कृष्ण पोखरेल
पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिकाको भुवनपोखरी गोखुङ्गामा महिलाको प्रजनन् स्वास्थ्य शिविर सञ्ंचालन भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना, रैनादेवी छहरा गाउँपालिकाको समन्वयमा भुवनपोखरीमा महिलाहरूमा हुने प्रजनन् रुग्णता परीक्षण, पहिचान, उपचार व्यवस्थापन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
शिविरमा रैनादेवी छहरा भुवनपोखरीका महिलाहरूलाई लक्षित गरी महिलाहरूको प्रजनन् अङ्गमा हुने क्यानसर हुनु अगावैको अवस्था परीक्षण, पाठेघर खस्ने तथा फिस्टुला परीक्षण, यौन रोगको परीक्षण पहिचान, तथा उपचार, परिवार योजना परामर्श, अस्थायी तथा स्थायी साधनको प्रगोगको अबस्था तथा वितरण आदि सेवाहरू प्रदान गरिएको थियो ।
शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले उद्घाटन गरेका हुन् । शिविरको उद्घाटन गर्दै उनले महिलाको प्रजनन् अवस्था राम्रो भएमात्र स्वस्थ निरोगी बच्चा जन्मिने भएकोले महिला लक्षित गरेर प्रजनन स्वास्थ्य शिविर संचालन गरिएको बताए । पालिका अध्यक्ष भट्टराईले आफु निर्वाचित भएको एक बर्षको अवधीमा स्वास्थ्य चौकीमा ल्याव सेवा सञ्ंचालन गरेको, नागरिक आरोग्य आर्युवेदिक सेवा सञ्चालन गरेको बताए ।
महिलाहरुमा बढ्दो रुपमा रहेको पाठेघरको मुखको क्यान्स पत्ता लगाई उपचार गरी रोकथाम गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको वडा अध्यक्ष प्रदिप पौडेलले बताए । पालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले पालिकामा महिलाहरुको समयमै पाठेघर मुखको क्यान्सर परिक्षण तथा उपचार, यौनरोग परिक्षण गरेर महिलाहरुको जीवन सुरक्षित बनाउन यो अभियान सञ्ंचालन गरिएको बताए ।
शिविरमा २ सय ५० जनाले सेवा लिएका थिए । जसमा १ सय ५७ जना महिलाहरुको पाठेघर मुखको क्यान्सर परीक्षण गरेकोमा ११ जनामा क्यान्सर देखिएको छ । उनीहरुको स्वास्थ्य चौकीको सिफारिसमा जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क उपचार गर्ने व्यबस्था गरेको स्वास्थ्य चौकी प्रमुख राम प्रसाद न्यौपानेले बताए । शिविरमा एक जना महिलाको पाठेघरमा पलाएको मासु सल्यक्रिया गरि फालिएको थियो ।
शिविरमा ३ जना महिलाको पाठेघर सल्यक्रियाका लागि सिफारिस भएको, ३५ जनाको यौनरोग उपचार भएको, ७ जनाले इम्पलान्ट राखेको, ७ जनाले झिकेको, २ जनाले आयुडी राखेको, १ जनाले झिकेका थिए । महिलाहरुको पाठेघर क्यान्सर पत्ता लगाउने उद्देश्यले शिविर सञ्चालन गरिएको र शिविर प्रभावकारी भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र कुमार गिरीले बताए ।