पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मंगलबार मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए ।
मंगलबार पछिल्लो समय अनुसार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४ सय ३६ नमुनामध्ये ४ सय ७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १ हजार ९ सय ६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जना गरी १ सय ६ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ४ सय ६९ पुगेको छ । मंगलबार मात्रै ४८ जना कोरोनाका विरामी निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन सबैलाई आग्रह गरेको छ ।