पाल्पा, यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा बुधबारदेखि सकिएको छ । यहीँ चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
देशका ७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रसहित जापानमा एक गरी दुई हजार ३७ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा भएको थियो । यसवर्ष परीक्षामा चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी थिए । नेपालबाट रोजगारीका लागि जापान पुगेका अभिभावकका १४ जना छोराछोरीले पनि यसवर्ष जापानबाटै परीक्षा दिएका छन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाइ हुने टोकियोको एक शैक्षिक संस्थाबाट उनीहरुले परीक्षामा सहभागी भएका हुन् । परीक्षामा पाल्पाबाट ४ हजार ५ सय ४६ विद्यार्थी परीक्षा दिएका छन् । १ सय ३७ विद्यालयका विद्यार्थीहरुले परीक्षा दिएको शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाले जनाएको छ ।
परीक्षाको लागि २७ वटा केन्द्र निर्धारण गरिएको थियो । उक्त केन्द्रका लागि २७ जना केन्द्राध्यक्ष, ३१ जना सहायक केन्द्राध्यक्ष, २ सय २६ निरीक्षक, ४६ जना परीक्षा सहायक, ९१ जना विद्यालय सहयोगी र १ सय ३५ जना सुरक्षाकर्मी खटेका थिए । पुरानो पाठ्यक्रम अनुसारको यो वर्ष यो अन्तिम परीक्षा हो । आगामी २०८० सालदेखि नयाँ पाठ्यक्रममा आधारित परीक्षा सञ्चालन हुनेछ । प्रदेशस्तरमा अनिवार्य विषयका प्रश्नपत्रको समानान्तर सेट तयार गरिएको थियो । कठिनाइस्तर एउटै भए पनि हरेक प्रदेशमा फरक प्रश्न सोधिएको हो । परीक्षा बोर्डले एसइई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने गरी अगाडि बढेको जनाएको छ ।