Shittalpati
पाल्पामा शैक्षिक सत्र सुरू नहुँदै आइपुगे पाठ्यपुस्तक

रामचन्द्र रायमाझी
पाल्पा, बर्सेनि शैक्षिक सत्र सुरु भएको लामो समयसम्म विद्यार्थीका हातमा पाठ्यपुस्तक नपुग्ने समस्यालाई ध्यानमा राख्दै यसपटक पाल्पामा छिटै ल्याइएको छ । जनक शिक्षा सामग्री केन्द्र लि. बुटवलस्थित प्रदेश कार्यालयबाट आगामी शैक्षिक सत्रका लागि विद्यालयस्तरका धेरैजसो किताब आइसकेका छन् ।

मंगलबार सरकारी विद्यालयका ६५ हजार ९ सय ६९ थान पाठ्यपुस्तक पाल्पा आइपुगेका हुन् । जिल्लाका लागि आवश्यक पर्ने कक्षा ६–१० सम्मका पाठ्यपुस्तकको ७२ प्रतिशत पाठ्यपुस्तक पठाइएको जनक शिक्षा सामग्री केन्द्र लि. लुम्बिनी प्रदेशका कार्यलय प्रमुख राम विनय श्रेष्ठले बताए । ‘अब करिब २८ प्रतिशत मात्रै पठाउन बाँकी छ,’ उनले भने, ‘बाँकी पाठयपुस्तक वैशाख १५ गतेसम्म व्यवसायीकोमा पुर्‍याई सक्ने छौं ।’ जनक शिक्षाको प्रदेश कार्यालयमा यसपटक जिल्लामा पाठ्यपुस्तक पुर्‍याउन १४ स्टेसनरी व्यवसायीको नाम सूचीकृत छन् । उनीहरुले प्रदेश कार्यालयबाट प्राप्त भएका पाठ्यपुस्तक विद्यार्थीहरुको हात–हातमा पुर्‍याउने छन् । जनक शिक्षा सामग्रीले समयमै पुस्तक पठाएकाले जिल्लामा विगतमा जस्तो समस्या नहुने नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाका अध्यक्ष किशोर भट्टराईले बताए । उनले भने ‘सरकारी विद्यालयलाई चाहिने करिब ७०/७२ प्रतिश किताब आइसकेका छन्, भने ५० प्रतिशत भन्दा बढी नीजि विद्यालयका समेत पुस्तक झरेका छन्, बाँकी केही दिनमै आउने छन् ।’ जिल्लाका विद्यालयहरुले कक्षा ४– १० सम्म उपलब्ध गराएको तथ्याड्ढको आधारमा यस वर्षको शैक्षिक सत्रका लागि ३४ हजार १ सय ९० जना विद्यार्थीहरुलाई लक्षित गरेर पुस्तक ल्याइएको महासंघका अध्यक्ष भट्टराईले बताए । उनका अनुसार निजी विद्यालयहरुले विद्यार्थीको संख्या टिपाउन ढिला गरेका कारण पाठ्यपुस्तकमा केही ढिलाई हुन गएको हो । अहिलेसम्म निजी विद्यालयका करिब ५० प्रतिशतभन्दा बढी पुस्तक झरिसकेको महासंघका अध्यक्ष भट्टराईले बताए । कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रले विक्री गर्न पाउने भएकाले जनक शिक्षा समाग्रीले कक्षा ६–१० सम्मका विक्री गरेको छ । वैशाख ३ गतेदेखि सुरु हुने शैक्षिक सत्रका लागि विगतमा भन्दा यस पटक पाठ्यपुस्तक केही छिटो आएकोमा शिक्षक, विद्यार्थी र व्यवसायीहरु उत्साहित भएका छन् ।

राम विनय श्रेष्ठ
प्रमुख, जनक शिक्षा सामग्री केन्द्र लि. लुम्बिनी प्रदेश बुटवल
‘भौगोलिक बनावटका कारण पहाडी जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक ढिलो पुग्ने भएकाले यस पटक जिल्लालाई प्राथमिकताका आधारमा पठाइएको छ । बुधबारसम्म लुम्बिनी प्रदेशका ५ वटा जिल्लामा पाठ्यपुस्तक पठाइसकिएको छ । यो शैक्षिक सत्रमा सबै विद्यालयमा बेलैमा बालबालिकाका हातमा पाठ्यपुस्तक पुग्छन् । अभाव हुन नदिने योजना अनुसार काम गरिरहेका छौं ।’

जनक शिक्षा सामग्रीको प्रदेश कार्यालयले भौगोलिक अवस्थालाई मध्यनजर गरी यस पटक पाठ्यपुस्तक वितरण गर्दै आएको छ । विगतमा जस्तो अव्यवस्थित वितरण प्राणाीलाई कार्यालयले केही व्यवस्थित बनाएपछि पाठ्यपुस्तक समयमै पुग्नेमा धेरैले विश्वास गरेका छन् । प्रदेश कार्यालयले पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिरहेको छ । भौगोलिक बनावटका कारण पहाडी जिल्लाका विद्यालयहरुमा पाठ्पुस्तक ढिलो पुग्ने भएकाले यस पटक जिल्लालाई प्राथमिकताका आधारमा पठाइएको प्रदेश कार्यालयका प्रमुख श्रेष्ठले बताए । उनका अनुसार बुधबारसम्म लुम्बिनी प्रदेशका ५ वटा जिल्लामा पाठ्यपुस्तक पठाइसकिएको छ । पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तुमा ७० देखि ८० प्रतिशत पाठ्पुस्तक पुगिसकेका छन् । बाँकी जिल्लामा पनि पठाउने तयारी भइरहेको प्रमुख श्रेष्ठले बताए । उनले भने ‘यसपटकको शैक्षिक सत्रमा सबै विद्यालयमा बेलैमा बालबालिकाका हातमा पाठ्यपुस्तक पुग्छन् । अभाव हुन नदिने योजनाअनुसार काम गरिरहेका छौं ।’

प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update