पाल्पा, जिल्लाको माथागढी गाउँपालिका–३ मा रहेको दिव्य ज्योति नमूना माध्यमिक विद्यालयले भर्ना अभियान सञ्चालन गरेको छ । विद्यालयले विद्यालय शिक्षाको पहुँच भन्दा बाहिर रहेका सबै क्षेत्र र वर्गका विद्यार्थीहरुलाई समेत समाहित गर्ने उद्देश्यले भर्नाका लागि घरदैलो कार्यक्रम सञ्चालन गरेको हो ।
सोमबार विद्यालयको पहिचानसहित र्याली गरेर विद्यालयले भर्ना अभियान थालेको छ । वार्षिक नतिजा प्रकाशन सकिएपछि विद्यालयले शैक्षिक सत्र २०८० का लागि भर्ना अभियान थालेको हो । भर्ना अभियान अन्तर्गत भएको ¥यालीमा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, वडा अध्यक्ष तेजबहादुर घर्तीमगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम राना, प्रधानाध्यापक लोकेन्द्र थापा, विव्यसका पूर्व अध्यक्षहरू, विव्यस सदस्य, अभिभावक समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो । सो अवसरमा गाउँपालिका अध्यक्ष चिदीले नयाँ भर्ना भएका विद्यार्थीलाई कापी कलम दिएर विद्यालयमा स्वागत गरे । अध्यक्ष चिदीले पछिल्लो समय विद्यालयले उत्कृष्ट शैक्षिक क्रियाकलापहरू गर्दै आएको भन्दै प्रशंसा गरे । उनले भर्ना अभियानले सबै तह र तप्काका बालबालिका विद्यालयभित्र ल्याउन सहयोग गर्ने उल्लेख गरे ।
भर्ना अभियान अन्तर्गतको र्यालीमा विद्यालयको पञ्चेबाजा समूह, व्याण्ड बाजा समूह, स्काउट, जुरेस, इको क्लब, किशोरी क्लब, तेवाण्दो दोजाङ् समूहका विद्यार्थीहरू, अभिभावक एवं शिक्षकको सहभागिता रहेको थियो । भर्ना अभियान अन्तर्गत सेवा क्षेत्रमा घरदैलो अभियान समेत सुरू गरिएको विद्यालयका प्रधानाध्याक लोकेन्द्र थापाले जानकारी दिए । उनले विद्यालयमा कक्षा पिजी (प्ले ग्रूप)देखि कक्षा ९ सम्ममा अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन हुने जानकारी दिए । विद्यालयले यही वर्षदेखि स्कुल बस समेत सञ्चालन गरेको जनाएको छ । विद्यालयमा हाल एक हजार बालबालिका अध्ययनरत छन् ।