Shittalpati
फेरी कोरोना बढ्यो, सतर्कता भएन

हाम्रा संवाददाता

पाल्पा, नेपालमा फेरी कोरोना भाइरस संक्रमणका बिरामी बढ्न थालेका छन् । चैतको दोस्रो सातादेखि कोरोना संक्रमितको ग्राफ बढ्न थालेको हो । सीमापारी भारतमा कोरोना संक्रमण ह्वात्तै बढेसँगै नेपालमा पनि उच्च देखिएको छ । खुला सीमाबाट संक्रमितको निर्वाध आवतजावत भइरहेकाले संक्रमण बढेको विज्ञहरू बताउँछन् । पछिल्लो २ सातामा एक हजार २ सय १० जनामा कोरोना संक्रमण देखिएको छ । चैत १५ मा ३४ जना, चैत १६ मा ४२ जना, चैत १७ मा १४२ जना, चैत १८ मा ३८ जना, चैत १९ मा ३८ जना, चैत २० मा ७६ जनामा संक्रमण देखिएको थियो । यस्तै चैत २१ मा ८०, चैत २३ मा ८५, चैत २४ मा ९९, चैत २५ मा ६४, चैत २६ मा ५५, चैत २७ मा १२४, चैत २८ मा १०६, चैत २९ मा १२१ मा संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । चैत ३० अर्थात् विहिबार पनि १०६ मा संक्रमण पुष्टि भएको छ । १ हजार ४ सय ८८ नमूना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५ सय ४१ र एन्टीजेनबाट ९ सय ४७ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट ४२ को रिपोर्ट पोजिटिभ आएको हो । यो अवधिमा ७४ जना संक्रमित निको भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको संख्या ४ सय ३५ पुगेको छ । दुुई हप्ताको अवधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

अहिले देखिएको संक्रमण कोरोना भाइरसको नयाँ भेरियन्ट रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना भाइरस ओमिक्रोनको नयाँ भेरियन्ट ‘एक्सबिबी १.१६’ नेपालमा पुष्टि भएको हो । छिमेकी देश भारतमा फैलिएको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले ओमिक्रोनका नौ वटा सबभेरियन्ट सक्रिय रहेको पाइएको छ । यसमा पछिल्लोपटक भेटिएको ‘एक्सबिबी.१.१६’ सबैभन्दा धेरै छ ।

नेपालमा संक्रमण बढ्दै गए पनि सर्तकता भने अपनाइएको छैन् । सरकारले कोरोना भाइरसबाट बच्नका लागि नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउन, कोरोना भाइरसविरुद्धको खोप लगाउन, बेलाबेलामा साबुन पानी वा स्यानिटाइजरले हात धुन, खोक्दा वा हाच्छिउँ गर्दा रुमालले छोप्न र भौतिक दूरी दुई मिटर राख्न अनुरोध गरेको पनि त्यसको आमनागरिकले व्यवस्था गरेका छन् । स्वास्थ्य मन्त्रालयले नेपालमा मौसमी रुघाखोकीका साथै कोभिड–१९ को संक्रमण पनि बढ्दै गएकाले रोकथाम एवं नियन्त्रणका लागि सबै तहबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील हुन आग्रह गरेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update