पाल्पा, सरकारले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।
खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्नका लागि सप्ताह मनाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सप्ताहमा लगाउन छुटका सबै बालबालिकालाई खोप दिइने छ । विभिन्न जिल्लामा खोप लगाउन छुटेका बालबालिकाको संख्या बढ्दै गइरहेकाले उनीहरुमा दादुरा, रुवेलालगायत महामारीको जोखिम बढ्न सक्ने भएकाले खोप सप्ताहअन्तर्गत वैशाखभरि सबै बालबालिका खोप दिइने मन्त्रालयले जनाएको छ ।
वैशाख पहिलो हप्तादेखि विभिन्न माध्यमबाट १५ महिनासम्म लगाउनुपर्ने पूर्ण खोपको जानकारी दिनुका साथै खोप छुटेका बालबालिकाको पहिचान गर्ने, वैशाख १५ र ३१ गते दुई दिन नियमित अभियान सञ्चालन गरी खोप लगाइने छ । यस्तै वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाउने क्रममा पनि खोप लगाउन छुटेका बालबालिकाको सूची तयार पारिने छ ।