Shittalpati
पाल्पाका पर्यटकीयस्थल खचाखच

हाम्रा संवाददाता
पाल्पा, नयाँ वर्षको पहिलो र दोस्रो दिन पाल्पाका चर्चित पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिए । विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले तानसेनको श्रीनगरडाँडा, रानीमहल, रुरु क्षेत्र, रिब्दीकोटको भैरवस्थान, रम्भाको रिमिघा लेक, कौडे लेक, तिनाउको जन्तीलुङ्ग, मरामकोट लगायतका पर्यटकीयस्थलहरु खचाखच रहे । ती स्थानमा एक हप्ताअघि देखिनै पर्यटकको चहलपहल बाक्लिएको थियो । विगतको तुलनामा अहिले पर्यटकको उपस्थिति बढेको देखिन्छ ।

यस पटक नयाँ वर्षको पहिलो दिन शुक्रबार र अर्को दिन शनिबार भएकाले पनि यहाँका पर्यटकीयस्थलहरुमा दुुई दिन नै चहलपल रह्यो । ‘पहिले नै पाल्पाको श्रीनगर आउने इच्छा थियो,त्यो इच्छा बल्ल अहिले पुरा भएको छ’ श्रीनगरमा भेटिएका बुटवलका सुुवास खत्रीले भने । विगतमा कोरोनाको डरले बाहिर घुम्न नपाइएकोमा यस वर्ष भने केही सहज भएकाले रमाइलो र आनन्द लिन परिवारसहित श्रीनगर आएको उनको भनाई छ । ‘अरु बेला आफ्नो काममा व्यस्त भइन्छ, नयाँ वर्ष छोराछोरीलाई रमाइलो र हौसला बढाउनका लागि घुम्न आएको हुँ’, उनले भने ।

भैरवस्थानमा परिवार सहित घुम्न पुगेका गुल्मी तम्घासका सागर पन्थी पनि नयाँ वर्षलाई परिवारको खुशी र मनोरञ्जन प्रदान गर्नका लागि समय मिलाएर घुम्न आएको बताए । ‘अरु समय अफिसको काममा व्यस्त भइन्छ, फुर्सद नै मिल्दैन’, उनले भने, ‘वर्षको एकपटक नयाँ पर्व पनि भएकाले परिवारलाई समय दिएर खुशी साट्नका लागि आएको हुँ ।’ उनीहरु जस्तै हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरु यहाँका पर्यटकीय स्थलमा पुगेका थिए ।

रूपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, गुल्मी, र अर्घाखाँची लगायतका नजिकका ठाउँबाट मानिसहरू पाल्पा आएका थिए । पर्यटकलाई आर्कषित गर्न यहाँका अधिकांश पर्यटकीयस्थलमा स्थानीय सरकारले उचित व्यवस्था समेत मिलाएका थिए । तानसेन नगरपालिकाले श्रीनगर डाँडामा खानेपानी, शौचालय, नाचगानका लागि साउण्ड सिष्टम, विद्युत लाइनको व्यवस्था मिलाइदिएको थियो । यहाँ नयाँ वर्षको पहिलो र दोस्रो दिन करिब ५० हजार पर्यटकहरूले अवलोकन गरेका छन् । रानीमहलमा पनि पर्यटकको उत्तिकै भिड रहेको थियो । उता रिमिघा लेक र रम्भादेवी मन्दिरमा पनि पर्यटकको घुँइचो रहेको थियो । यहाँ पनि रम्भा गाउँपालिकाले नयाँ वर्षलाई लक्षित गरी पर्यटकीय स्थलहरुको उचित व्यवस्था गरेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update