Shittalpati
कानुन सिक्दै रामपुरका जनप्रतिनिधि

हाम्रा संवाददाता
पाल्पा, स्थानीय तहमा कानुनी ज्ञानको कमीले कार्यसम्पादनमा अलमल र अन्योल सिर्जना भइरहेका बेला पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिहरूले कानुनी प्रक्रियाको विषयमा जानकारी लिन थालेका छन् । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयले रामपुरमा तालिम दिइरहेको छ । दुुई दिनसम्म चल्ने सचेतनामूलक कार्यक्रम सोमबारदेखि सुरु भएको हो ।

कार्यक्रममा विभिन्न चरणमा फरक–फरक विषयवस्तुमाथि जानकारी गराइएको छ । स्थानीय तहमा गठित न्यायिक समितिको कामलाई प्रभावकारी बनाउने तथा थप स्पष्ट हुन भन्दै दुई दिनको कानुनसम्बन्धी सचेतना कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ । न्यायिक समितिको क्षेत्राधिकारको थप व्याख्या गरेर समितिलाई सजिलो बनाउने तथा स्थानीय तहबाट हुने न्याय सम्पादन प्रभावकारी बनाउन कानुनसम्बन्धीको सचेतना कार्यक्रमले महत्वपूर्ण टेवा पुुग्ने रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताईन् । कार्यक्रमको सुुभारम्भ गर्दै उनले कानुन निर्माणको प्रक्रिया र कार्यान्वयन अभावका कारण स्थानीय सरकार सञ्चालनमा केही समस्या आउने गरेको बताइन् । उपप्रमुख थापाले भनिन्,‘कानुनी प्रक्रियाका विषयमा जनप्रतिनिधिलाई पूर्ण ज्ञान नहुँदा कतिपय बेला अप्ठ्यारो परिस्थिती सिर्जना हुदैँ आएको छ ।’ सचेतना कार्यक्रमले स्थानीय तहको कानुन निर्माण र कार्यान्वयनमा सघाउ पुग्ने उनले विश्वास व्यक्त गरिन् । नयाँ संरचना र व्यवस्थाअनुसार काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरूलाई पूर्वाधार र जनशक्तिमात्र नभएर कानुन, ऐन, नियम र कार्यविधिको बारेमा पर्याप्त ज्ञानको अभावले अलमल भएको उनको अनुभव छ । जुनसुकै कानुन समान हुने र सबैलाई समान रुपमा लागु हुने भन्दै विधि र कानुन सम्वत रुपमा स्थानीय सरकार सञ्चालन हुन आवश्यक रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले उल्लेख गरे ।

कार्यक्रममा आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले स्थानीय तहले आफै कानुन बनाउने अधिकार पाउनु संघीयताको मुख्य उपलब्धी भए पनि सरकारले अंकुश लगाएको बताए । हरेक स्थानीय तह सञ्चालनका लागि कानुन बनाउने अधिकार प्रदान गरे पनि प्रदेश र संघीय सरकारको कानुनसँग नबाझिने गरी कानुन बनाउनुु पर्ने प्रावधान दुखद् रहेको उनले उल्लेख गरे । केही स्थानीय तहमा कानुनले दिए भन्दा बढी अधिकारको प्रयोग गरेको र केहीमा दिएको अधिकार पनि कार्यान्वयनमा आउन नसकेको अवस्थामा रहेको उनले बताए । सचेतना कार्यक्रममा कानुन र न्याय , देवानी संहिता, फौजदारी संहिता २०७४, स्थानीय तहको कानुन निर्माण प्रक्रिया लगायतका विषयमा प्रशिक्षण भइरहेको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्रिको कार्यालयका कानुन सचिव राजेन्द्र थापा आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवाली, अधिकृत सिता घिमिरे लगायतले सहजिकरण गरिरहेका छन् । माधव मिश्रको सञ्चालनमा सुुभारम्भ कार्यक्रम भएको थियो । कार्यक्रममा रामपुर नगरपालिकाका १० वटै वडाका अध्यक्ष, सदस्य, जनप्रतिनिधि , कर्मचारी लगायतको सहभागिता रहेको छ । कानुन सम्बन्धीको कार्यक्रमबाट भने उनीहरु थप उत्साहित भएका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update