Shittalpati
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन स्थानीय सरकारसँग छलफल

कृष्ण पोखरेल
पाल्पा, लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन पाल्पाका स्थानीय सरकारसँग छलफल गरेको छ । मन्त्रालयले तानसेनमा स्थानीय तहका जनप्रतिनिधी तथा प्रमुख प्रशासकीय अधिकृतहरुलाई राखेर छलफल गरेको हो ।

देशमा प्रर्याप्त रोजगारीको अवस्था नहुँदा विदेश जान बाध्य नेपाली श्रमिकहरुलाई सुरक्षित मर्यादित बनाउन स्थानीयतहबाटै पहल, सचेतना तथा परामर्श थाल्नुपर्ने अभियानका साथ मन्त्रालयले छलफल चलाएको छ  । छलफलमा स्थानीयतहका प्रमुख तथा प्रशासकीय अधिकृतहरुले स्थानीय सरकार भनेर सबै पक्ष ठोकिने गरे पनि बैदेशिक रोजगारलाई व्यस्थित, सुरक्षित र मर्यादित बनाउन नीति, योजना, बजेट र कार्यक्रम सहित पालिका, पालिकामा व्यस्थित कार्यालयबाट काम गरिनु पर्नेमा जोड दिएका छन् । प्रदेशमै पाल्पा पाँचौ नम्वरमा वैदेशिक रोजगारीमा जाने संख्याको सूचीमा परे पनि मन्त्रालयले हालसम्म पालिकाहरुलाई केन्द्रीत गरेर कार्यक्रम र बजेट विनियोजन नगरी एक दिने छलफलले मात्र काम गर्न कठिन हुने पालिका अध्यक्षहरुले बताएका छन् । पाल्पामा गत वर्ष मात्र ९ हजार ४ जना वैदेशिक रोजगारीमा पुगेका छन् । चालु आर्थिक वर्षको हाल सम्म ८ हजार ४ सय जना बैदेशिक रोजगारीका लागि देश छाडेका छन् । जसमा भारत तथा शैक्षिक अध्ययनका लागि गएका व्यक्तिहरु भने समावेश भएका छैनन् ।

लुम्बिनी प्रदेशमा मात्र गत आर्थिक वर्षमा १ लाख १३ हजार ५ सय ६१ जना व्यक्ति वैदेशिक रोजगारीमा गएका छन् । सुनौलो भविष्य देखेर वैदेशिक रोजगारीमा पुगेका नेपालीहरुको विदेशमा पुगेपछि भने सोचेजस्तो सफलता पाउन सकेका छैन । दैनिक ५ जनासम्म नेपाली श्रमिकहरुको मृत्यु हुने गरेको छ । कयौं डिप्रेसनमा पुगेका छन् । कयौ श्रमिकहरु अंग भंग भएका छन् । कयौ जेलमा परेका छन् । कयांै श्रमिकहरु स्वदेशदेखि विदेशसम्म ठगिन पुगेका छन् । रोजगारीबाट स्वदेश फर्किदा कयौंका घरबार विग्रिएको छ । कयौंका श्रीमतीहरु अर्केसँग घरजम गर्दा बाल बच्चा विचल्लीमा परेका छन् । यस्ता समस्याहरु समाधान गर्ने स्थानीय, प्रदेश र केन्द्र सरकार मिलेर काम गर्नुपर्नेमा कार्यक्रममा मन्त्रालयले जोड दिएको छ ।

कार्यक्रममा उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादव, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, उप–प्रमुख काशिका गैरे, प्रदेश सांसद विरबहादुर राना, इन्द्रा गहतराज, खेम बहादुर सारु, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, पत्रकारहरु गोविन्द भट्टराई, गुणाकर अर्याल, माधव अर्याल, किरण कौशल, कृष्ण कार्की लगायतले वैदेशिक रोजगारी न्यूनिकरण गर्ने गरी कार्यक्रम ल्याउनुपर्ने, स्वदेशी उत्पादनको बजार ग्यारेन्टी गर्नुपर्ने, औपचारिकताका लागि मात्र कार्यक्रम नगरी काम गर्ने गरी मन्त्रालयले ध्यान दिनुपर्नेमा जोड दिएका छन् । छलफल कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख राजेन्द्रप्रसाद पन्थी, कार्यक्रम व्यवस्थापक पञ्चराम चौधरी, तथा मन्त्रालयका प्रशासन तथा श्रम शाखा प्रमुख टुकराज पाण्डेले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update