Shittalpati
भत्काइयो पाल्पा दरबार क्षेत्रका ५७ घरटहरा

रामचन्द्र रायमाझी
पाल्पा, तानसेन नगर सरकारले ऐतिहासिक पाल्पा दरबार संग्रहालय क्षेत्रका घरटहरा डोजर लगाएर भत्काएको छ । नगर सरकारले दरबार संग्रहालय परिसरको तानसेनस्थित शित्तलपाटी मूलढोका र तेस्रो सडक दरबार क्षेत्र वरपर रहेका ५७ घरटहरा बुधबार भत्काएको हो । दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले यहाँका सरकारी संरचनामा नगर सरकारले बुधबार विहानैदेखि डोजर लगाएको थियो । सटरमा पसल तथा कार्यालय चलाइरहेकाहरुलाई नगरपालिकाले वैशाख ५ गतेसम्मलाई सामान खाली गर्न ३५ दिने म्याद दिएको थियो ।

तानसेन नगर सरकारका कार्यवाहक प्रमुख प्रतिक्षा सिंजाली, प्रवक्ता यादवसिंह कार्की वडा अध्यक्ष, सदस्य, प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीसहित सम्पूर्ण कर्मचारी, नगर प्रहरीसहित गएको डोजरले घर, टहरा तथा पसल भत्काएको हो । तीन वटा डोजर लगाएर घरटहरा भत्काइएको थियो । दरबार परिसरलाई विश्व सम्पदा सूचिमा राख्नुुको साथै दरबारलाई पुरानै मौलिकतामा राख्न, बृहत गुरुयोजना अनुसार तानसेन नगरपालिकाले पहिलो चरणमा परिसर क्षेत्रका घरटहरा भत्काइएको नगर सरकारका कार्यवाहक नगर प्रमुख प्रतिक्षा सिंजालीले बताइन् । नगर सरकारको स्वामित्वमा रहेका १३ वटा घरटहरासहित घरेलु शिल्पकलाका १३, नेपाल रेडक्रसका ३, कर्मचारी मिलन केन्द्रका ३, बालसंगठनको १ तथा २००२ देखि २०२२ सम्म राणाहरुले अर्को व्यवस्था नभएसम्मको लागि भन्दै दिएका २४ घरटहरा भत्काइएको नगर प्रवक्ता यादव सिं कार्कीले बताए । यहाँका सटरहरुमा व्यापार, व्यवसाय गर्दै आइएको थियो । नगर सरकारले यी सटरहरु भत्काउने समय सिमा दिएपछि यहाँका व्यवसायीहरुले मंगलबार नै रातारात सटर खाली गराएका थिए । घरटहरा नहटाउन दबाब दिन व्यापारीको संघर्ष समिति गठन भएको थियो । संघर्ष समितिले भेला, छलफल गर्ने, मुद्दा दायर गर्ने लगायतका काममा अघि बढेकाले कतिपय व्यापारी ढुक्क भएर बसेका बेला नगरपालिकाले डोजर लगाएको व्यापारीहरुको गुनासो छ ।

अधिकांश व्यापारीले भत्कँदैन भनेर बसेका कारण अन्तिममा सामान सार्ने हतारो भएको थियो । नगर सरकारले हचुवाको भरमा घर टहरा फालेको तानसेन घर, टहरा संघर्ष समितिका अध्यक्ष तथा व्यवसायी मकबुल अलीले बताए । उनले कमिसनको खेलमा लागेर संरचनाहरु फाल्नु गलत भएको बताए । उनले भने ‘हामी विकासका विरोधी हैनौं, तर विना गुरु योजना कुनै पनि निकासै नखोजी टहरा फाल्नु दुखद् हो, यस विषयमा नगर सरकारले सोच्नुपथ्यो ।’ आफुहरुले २०७९ चैत २९ गते बुटवल उच्च अदालतमा रिट निवेदन दिएको र अदालतले २०८० वैशाख ७ गते दुवै पक्षलाई कागजातसहित उपस्थित हुन भने पनि नगरपालिकाले त्यसको वेवास्ता गर्दै घरटहरा भत्काएको संघर्ष समितिका अध्यक्ष ओलीले बताए । उनले भने ‘नगर सरकारले नत अदालतको सम्मान गर्‍यो नत नागरिकको नै, हामीले अदालतले कागजात ल्याएर आउनु भनेकाले एक/दुई दिनको समय दिन नगरपालिकालाई भनेका थियौं तर त्यो कुरा सुन्दै नसुनी डोजर चलायो ।’ स्थानीय सरकार नजिकको सरकार भए पनि नागरिकको अधिकारमाथि कुठारघात गरेको उनको आरोप छ । पुरातत्व विभागले माघ १० गते तानसेन नगरपालिकालाई तानसेन नगर विकासका लागि संरचनाहरु हटाउन पत्र पठाएको थियो । सोही अनुसार नगर सरकारले त्यसको प्रक्रिया थालेको बताएको छ । पुरातत्व विभागको पत्र र यहाँको सर्वदलीय, सर्वपक्षीय छलफलको निष्कर्षका आधारमा कार्यपालिकाले यहाँको सौन्दर्यकरण तथा पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि ५७ घरटहरा भत्काउने निर्णय गरे अनुसार भत्काईएको नगरपालिकाले जनाएको छ । यहाँका संरचनाका कारण दबारको सौन्दर्यता माथि बेला–बेलामा प्रश्न उठ्ने गरेको छ । अहिले दरबार र मूलढोका परिसरलाई पुरातत्व विभागले विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने भएपछि नगर सरकारले सौन्दर्यता बढाउन पहल थालेको हो ।

राणाकालिन समयमा दक्षिण एसिया कै सबै भन्दा ठूलो काठै काठको ढोका भनिने मूल ढोकाको पुर्ननिर्माण समेत गर्ने तयारी छ । दरबार परिसरमा बगैचा निर्माण गरिने भएकाले पुरातत्व विभागले संरचना खालि गर्न नगर सरकारलाई यस अघि पत्राचार गरेको थियो । सडक किनारा तथा दरबार र मुल ढोकालाई प्रभावित हुने गरी निर्मित संरचनाहरु हटाएपछि सडक ११ मिटर भन्दा बढी फराकिलो हुने जनाइएको छ । राणाकालिन समयमा निर्मित ऐतिहाकि दरबारमा सञ्चालित संग्राहालयलाई सडकबाट पैदल हिड्ने बटुवाले समेत सहजै अवलोकन गर्न सक्ने गरी सडक चौडा हुने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update