पाल्पा, आज १७ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२/६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भई लोकतन्त्र स्थापना भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम वि.सं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुर्नस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्ख्ला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी) बीच १२ बुँदे समझदारी भयो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए ।
चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आÞवान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । तर, देशमा लोकतन्त्र स्थापना भएको १७ वर्ष हुँदा पनि अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेको टिप्पणीहरू हुँदै आएको छ । कतिपयले त सत्ता सञ्चालकबाटै लोकतन्त्र संस्थागतभन्दा पनि संकटमा पार्ने प्रयास भइरहेको भन्दै चिन्ता प्रकट गर्ने गरेका छन् ।