वालिङ्, स्याङ्जाको भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ मा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
माटोमा हुने तत्वबारे न्यूनतम जानकारी पाउन र माटो परीक्षण गर्न पनि पोखरा जानुपर्ने बाध्यता रहेकामा किसानलाई आफ्नै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यले उक्त प्रयोगशाला सञ्चालनमा ल्याइएको उनले बताए । “अत्याधुनिक उपकरण जडान गरी स्थापना गरिएको प्रयोगशालाबाट माटोको अवस्थाबारे किसानलाई जानकारी दिने गर्छौं” नगरप्रमुख कर्माचार्यले भने, “आफूले बाली लगाएको माटोको अवस्थाबारे किसानले जानकारी पाउने र माटोमा भएका कमी कमजोरीको उपचार गर्न सकिने भएकाले यो प्रयोगशाला निक्कै उपयोगी हुने विश्वास हाम्रो छ ।” नगरभित्रका नौवटा वडाको तालिका बनाएर प्रयोगशालाबाट माटो परीक्षण गर्ने तयारीमा नगरपालिका छ ।
डिजिटल माध्यमको अत्याधुनिक उपकरणबाट माटोमा भएको ‘पिएच’को मात्रा तत्कालै र अन्य अन्य तत्वको मात्रा १–२ दिनभित्रै किसानलाई उपलब्ध गराइने कृषि शाखा प्रमुख किसान अर्यालले बताए । “माटो सम्बन्धी विभिन्न १२ वटा प्यारामिटरको परीक्षण प्रयोगशालामा हुन्छ” उनले भने, “माटोमा भएको कमी कमजोरीका बारेमा जानकारी सहित उपचार विधिबारे पनि सुझाव तथा परामर्श दिने गरिएको छ ।” भिरकोटमा माटो परीक्षण प्रयोगशाला नहुँदा यहाँका किसानले माटोको नमुना लिएर पोखरा जानुपर्ने बाध्यता थियो । त्यसमा पनि परीक्षण गर्न समय लाग्ने गरेकाले तत्कालै नतिजा नआउने र ढिलो हुँदा किसान बालीनाली लगाउने समय घर्किसक्ने हैरानीमा थिए । –रासस