Shittalpati
कैलाशनगर मिडियाद्वारा भित्तेपात्रो सार्वजनिक

पाल्पा, कैलाशनगर मिडियाले नयाँ वर्ष २०८० को भित्तेपात्रो सार्वजनिक गरेको छ । बिहीबार तानसेनको भगवतीटोलमा रहेको मिडियाको प्रधान कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षको भित्रेपात्रो सार्वजनिकसँगै शुभकामना आदानप्रदान गरिएको हो ।

मिडियाद्वारा प्रकाशित नव जनचेतना राष्ट्रिय दैनिक र शित्तलपाटी डटकमले प्रकाशित गरेको उक्त भित्तेपात्रो पूर्व मन्त्री तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर राना, प्रालिका अध्यक्ष तथा दैनिकका सम्पादक जगदीश भट्टराई, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, महासंघका सचिव यज्ञमूर्ति तिमिल्सीना, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, प्रेस युनियनाका पूर्व सभापति प्रकाश नेपाल, महासंघका जिल्ला सदस्य कृष्ण पोखरेल, सञ्चारिका समूूह पाल्पाकी महासचिव सिता डोटेल, नव जनचेतना दैनिकका उपसम्पादक रामचन्द्र रायमाझी लगायतले संयुक्त रुपमा भित्तेपात्रो सार्वजनिक गरेका हुन् ।

भित्तेपात्रो सार्वजनिक गर्दै पूर्व मन्त्री तथा लुुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले समाजका विकृति, विसंगती र अनियमिताका विरुद्ध जनचेतना र शितलपाटी डटकमले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले लामो समय संर्घष गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था अहिले खतरामा परेको भन्दै त्यसलाई जोगाई राख्न मिडियाले थप सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिए । सांसद् रानाले भने‘ केही व्यक्ति विशेष र दलका कारण अहिलेको व्यवस्था नै खतरामा छ, त्यसलाई जोगाउन लाग्नुहोस्, यहाँहरुको कलमलाई सशक्त बनाउन नयाँ वर्षले थप उर्जा प्रदान गरोस् । ’

मिडियाका अध्यक्ष जगदीश भट्टराईले पाल्पाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने गरी नयाँ वर्षको भित्तेपात्रो सार्वजनिक गरिएको बताए । उनले भने ‘हामीले यहाँका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुलाई प्राथमिकतामा राखेका छौं ।’ नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले पत्रकारिता क्षेत्रमा जनचेतनाले धेरै पत्रकारहरु उत्पादन गर्न सफल भएको बताए । उनले पाल्पामा दैनिक पत्रिकाको रुपमा रहेर पत्रिकाले खेलेको भूमिकाको प्रशंसा गरे । उपाध्यक्ष अर्यालले पछिल्लो समय नेपाली पत्रकारिता क्षेत्रमा थु्रपै चुनौतीहरु देखा परेको भन्दै त्यसलाई चिर्दै अगाडि बढ्न मिडियालाई आग्रह गरे । उनले भने ‘अब व्यक्तिका लागि पत्रकारिता गर्ने कि, समाजका लागि ? यो पत्रकारिताको लागि चुनौतीका रुपमा रहेको छ ।’ अबको पत्रकारितालाई सच्याएर लैजानुको विकल्प नरहेको अर्यालले बताए । कार्यक्रमा पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले मोफसलमा रहेर पत्रिकाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले पछिल्लो समय नेपाली मिडियाहरु धरासय बन्दै गइरहेको अवस्थामा पनि जनचेतना दैनिकले आफुलाई निरन्तरता दिन सक्नु नै ठूलो कुरा रहेको धारणा व्यक्त गरे । उपाध्यक्ष शार्मले मिडियाले आगामी दिनमा थप उच्चस्तरी सामग्रीहरु प्रकाशन गर्ने दिशामा ध्यान दिनुपर्नेमा जोड दिए । संस्थाका अध्यक्ष जगदीश भट्टराईको अध्यक्षता, उपसम्पादक रामचन्द्र रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update