
बुटवल, लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदभार ग्रण गरेका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेका चौधरीले वैशाख १८ गते सोमबार विश्वासको मत लिने भएका छन् । पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषदको बैठकले सोमबार विश्वासको मत लिने निर्णय गरेको हो । सरकारलाई छिटो पूर्णता दिनेगरी विश्वासको मत छिट्टै लिन लागेको जनाइएको छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभा मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ । बिहिवारमात्रै ५३ जना सांसदको समर्थनमा कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शुक्रबार दिउँसो बिना विभागीय मन्त्री नियुक्त भएका माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डेले मुख्यमन्त्री चौधरीसङगै प्रदेश प्रमुखबाट शुक्रबार पद तथा गोपनियताको शपथ लिएका हुन् । मुख्यमन्त्री चौधरीले पदभार ग्रहण गरेसँगै राजधानी कार्यान्वयनको जिम्मेवारी सरकारको काँधमा आएको बताएका छन् । उनले प्रदेशको स्थायित्व र विकासका लागि सरकारले प्राथमिकताका साथ काम गर्ने बताए । ‘राजधानी घोषणादेखि कार्यान्वयनमा हामी सँगसँगै छौँ’, उनले भने,‘हामी सहभागी अघिल्लो सरकारले राजधानी कार्यान्वयन र पूर्वाधार निर्माणको काम गरेको थियो । अहिले पनि निरन्तरता दिन्छौँ ।’