हाम्रा संवाददाता
पाल्पा, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले वर्तमान शिक्षालाई सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्ने बताएका छन् । जिल्लास्तरीय आधारभुत तथा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकलाई रामपुरमा सम्बोधन गर्दै प्रमुख खनालले अहिलेको शिक्षा, व्यवहारिक र जीवनउपयोगी नभएको भन्दै अब त्यसलाई सिक्ने, बिक्ने र टिक्ने बनाउनुपर्ने बताएका हुन् ।
उनले भने ‘अहिलेको शिक्षाले विद्यार्थीले न सीप सिक्न सके न रोजगार पाउन नै सके, यस्तो शिक्षाले टिक्नै सक्ने भएनन्, अब सिक्न, बिक्न र टिक्न सक्ने खालको शिक्षा चाहिएको छ ।’ विद्यार्थी र समाज रुपान्तरणका लागि कस्तो शिक्षा प्रदान गरेका छौँ भन्ने कुराको स्वमूल्याङ्कन गरी गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापकहरुलाई कर्तव्यनिष्ठ भएर लाग्न समेत प्रमुख खनालले निर्देशन दिए । उनले विद्यालयको सुधारका लागि प्रधानाध्यापकले हर समय नैतिक दायित्व बहन गर्नुपर्ने धारणा व्यक्त गरे । प्रमुख खनालले विद्यालयको शैक्षिक सुधारका लागि स्थानीय सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने ‘शैक्षिक सुधारका लागि तपाईँ प्रधानाध्यापकहरु लाग्नुहोस् कुनै पालिकाले आग्रह पूर्वाग्रह गरे, कानुन अनुसार अधिकार प्रदान गर्न म सहयोग गर्छु ।’ उनले समग्र जिल्लाको शिक्षा कस्तो बनाउने भन्ने विषयमा आफुले पनि स्थानीय तहहरुसँग छलफल गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले शिक्षा निति कस्तो बनाउने भन्ने विषय राज्यकै गम्भीर विषय भएको बताए । उनले विद्यार्थीको चहाना अनुसारको शिक्षाले मात्र सोचे अनुसारको शैक्षिक उपलब्धी हासिल गर्न सक्ने भन्दै सैद्धान्तिक शिक्षा भन्दा व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको औल्याए । प्रमुख थापाले भने ‘सैद्धान्तिक शिक्षाले विद्धवान बनाउँछ तर ज्ञानी बनाउन सक्दैन, व्यवहारिक शिक्षाले मानिसलाई ज्ञानी बनाउँछ ।’ शिक्षाको विकासका लागि नगरपालिका प्रतिवद्ध रहेको भन्दै उनले शिक्षालाई विद्यालय शिक्षामा मात्र सिमित नगराई हरेक पालिकामा विद्यार्थीहरुको चहाना अनुसारको शिक्षा प्रदान गर्नका लागि अनौपचारिक शिक्षा केन्द्र खोल्नु पर्ने बताए । पूर्वखोला गाँउपालिकाका अध्यक्ष नुनबहादुर थापाले विद्यालय सुधारका लागि साना–साना कुरामा ध्यान दिनुपर्ने बताए । उनले विद्यालयको शैक्षिक गुणस्तर, सिकाई प्रक्रियामा ध्यान दिन सके विद्यालयको शिक्षा उपलब्धिमूलक हुने बताए । अध्यक्ष थापाले शिक्षाको प्रभावकारिताका लागि यथार्थ धरातलको स्थानीय पाठ्यक्रमको आवश्यकता रहेको औल्याए । उनले विद्यालयमा भएका स्रोत साधनको अधिकतम प्रयोग गरेर विद्यालय व्यवस्थापन र सञ्चालन गर्न समेत प्रअहरुलाई आग्रह गरे । उनले शैक्षिक विकासका लागि पालिकाले शिक्षामा लगानी बढाउँदै जाने बताए । निस्दी गाँउपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले शिक्षा विकाउ नभई देशभक्त नागरिक उत्पादन गर्ने खालको हुन पर्ने बताए । उनले विद्यालयको सुधारका लागि हरेक विद्यालय नयाँ शिराबाट सञ्चालन हुन आवश्यक रहेकोमा जोड दिए । पालिकाले गाँउ शिक्षा ऐन बनाउने तयारीमा रहेको भन्दै सारुले आगामी आर्थिक वर्षदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था गर्ने बताए । कार्यक्रममा रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल र गंगा माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले विद्यालयको अवस्था, सञ्चालन विधि, शिक्षण सिकाई लगायतका विषयमा जानकारी गराएका थिए । बैठकमा विद्यालय सुशासन र व्यवस्थापन, योजना निर्माण,लक्ष्य निर्धारण, भर्ना अभियान समिक्षा लगाएतका विषयमा छलफल भएको थियो । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख महेन्द्र सुवेदीको अध्यक्षता, दरैठाँटी माविका प्रअ सुन्दर प्रसाद देवकोटाको स्वागत, समन्व्य इकाईका प्राविधिक सहायक बम बहादुर थापाको सञ्चालनमा कार्यक्रम भएको थियो । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको आयोजनामा भएको बैंठक तथा छलफलमा पूर्वखोला गाउँपालिका, निस्दी गाउँपालिका र रामपुर नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।