Shittalpati
तानसेनको दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालियो

पाल्पा, जिल्लाको तानसेन नगरपालिका –९ दमकडामा माण्डव्य ऋषिको रथ यात्रा निकालिएको छ । वैशाख पूर्णिमाका दिन माण्डव्य ऋषिको रथ यात्रा निकालिएको हो ।

मन्दिर स्थापना भएको ३ सय ७७ वर्ष पुरा भएको अवसरमा रथ यात्रा निकालिएको स्थानीय पत्रकार प्रकाश नेपालले बताए । उनका अनुसार ऋषिको मुर्तिलाई खटमा राखेर दमकडा हुँदै तिन्टीआप बजार परिक्रमा गराइएको थियो । रथ यात्राको क्रममा स्थानीय भजन, किर्तन, पञ्चेबाजा, ब्याण्ड बाजा सहित संघ संस्था, टोल विकास संस्था,स्थानीय आमा समूहको सहभागिता रहेको थियो ।

ऋषि कै नामबाट नामाकरण गरिएको माडीफाँटको किनार दमकडामा मन्दिर स्थापना गरिएको छ । तपस्या र साधनायुक्त ठानिने माण्डव्य ऋषिको यहाँ मन्दिर स्थापना भए पनि लामो समयपछि माण्डव्य क्षेत्र उत्थान प्रतिष्ठान र वडा कार्यालयको सहयोगमा यसवर्ष रथ यात्रा निकालिएको हो । धार्मिक शास्त्रमा ऋषिको व्यख्या अनुरुप महत्व र महिमा ठूलो भए पनि प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको थियो । पद्य पुराणमा उल्लेख भए अनुरुप माडीफाँट आसपासदेखि सत्यवतीसम्म माण्डव्य ऋषिको प्रसंग जोडिने अध्यता विश्वराज पौडेल बताउँछन् । उनी भन्छन् ‘ऋषिको रथ यात्रासँगै यसको प्रचार–प्रसार हुनुपर्दछ ।’

भण्डारी,ज्ञवाली थरका मानिसहरुको गोत्र माण्डव्य भएको र माण्डव्य ऋषिले साधनाको क्षेत्रमा मात्र नभई आर्युर्वेदीक चिकित्सा क्षेत्रमा समेत उत्तिकै दख्खल राखेको पाइन्छ । माण्डव्य ऋषिको नेपाल सरकारले केही समय अगाडि हुलाक टिकट प्रकाशनमा ल्याएको थियो । यसको महत्व र महिमा धेरै भए पनि प्रचार–प्रसारको कमीले गर्दा ओझेलमा परेको छ । माण्डव्य ऋषिको मात्र नभई माण्डव्य तपोभूमीको प्रचार–प्रसार गर्ने उद्देश्यले  रथ यात्राको निकालिएको वडा अध्यक्ष राजेश कुमार अर्यालले बताए । उनले भने ‘आगामी दिनमा समेत रथयत्रालाई निरन्तरता दिने छौं धार्मिक, सांस्कृतिक संरक्षणमा हाम्रो चासो रहने छ ।’ माण्डव्य सरोवरको विकास गरी धार्मिक पर्यटनलाई प्रर्वद्धन गर्ने दिशामा स्थानीय सरकार लाग्ने वडा अध्यक्ष अर्यालले बताए । माण्डव्य ऋषिको रथयात्रा निकाल्न पाउँदा अत्यन्त खुसी लागेको जग्गा दाता सीता अधिकारीले बताईन् । उनले ओझेलमा परेको मन्दिरको प्रचार–प्रसारका लागि रथयात्राले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरिन् ।

माण्डव्य ऋषिको तपोभूमिको रूपमा माडीफाँटको दक्षिण दमकडामा माण्डव्य ऋषिको मन्दिर रहेको छ । सन्त माण्डव्य ऋषिलाई चोरको आरोप लगाएर पाता फर्काइ कुटेर छाडिदिए पछि उनको माडी फाँटको पूर्व दक्षिणमा अवस्थित सरापकोट भन्ने ठाउँमा गई माडी फाँटको अन्न खाने मान्छेको बुद्धि पछिबाट मात्र आओस भनी श्राप दिएका हुँदा अहिले पनि अन्नप्राशन भातखुवाई गर्दा माडीफाँटको अन्न प्रयोग गरिदैन।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update