Shittalpati
संसद् बैंठक शरणार्थी प्रकरणमा केन्द्रीत

हाम्रा संवाददाता
पाल्पा, संघीय संसद् अन्तर्गत दुवै सदनको बजेट अधिवेशन आइतबारदेखि सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारित लगायतका कार्यमा केन्द्रीत हुनुपर्ने भए पनि त्यसो हुन सकिरहेको छैन । अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर दुवै सदनमा चर्को बहस भइरहेको छ । जसले गर्दा नीति तथा कार्यक्रम र नयाँ बजेटका विषयमा गहन रुपमा छलफल हुन सकिरहेको छैन ।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट तथा त्यसअघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनुपर्ने भए पनि भुटानी शरणार्थी प्रकरणमै सांसद्हरु केन्द्रीत भएका छन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गिरोहले नेपाली नागरिकमाथि ठगीधन्दा चलाएको विषयमा सांसदहरुले चर्को रुपमा आवाज उठाएका छन् । बजेट अधिवेशनको पहिलो दिनदेखि नै सत्तापक्ष, प्रतिपक्ष र स्वतन्त्र सांसदले करोडौं ठगी गर्ने गिरोह, सरकारले गरिरहेको अनुसन्धान र राजनीतिक दाउपेचका विषयमा कडा रुपमा आवाज उठाएका छन् ।

सांसदहरूले शरणार्थी प्रकरणका विषयमा बोल्न छुट्टै समय माग गर्दै गम्भीररुपमा छानबिन गरिनुपर्ने बताएका छन् । बैंठकमा सांसद चित्रबहादुर केसीले राज्यसत्ताका महत्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो विषयलाई गम्भीररुपमा लिनुपर्ने बताएका छन् । यो प्रकरणलाई मोडेर विषयान्तर हुन खोजेकोबारे पनि सांसद केसीले संसद्को ध्यानाकर्षण गराए । ‘कुनै नयाँ काण्ड आउँछन् र त्यसपछि फेरि विषय अर्कोतर्फ मोडिन्छ । त्यसकारण यो काण्डबारे दूधको दूध पानीको पानी हुनेगरी छानबिन गरिनुपर्छ । यो विषय टुङ्ग्याएर मात्र संसद्ले आफ्ना काम अगाडि बढाउनुपर्छ’, उनले भने । सांसद अर्जुननरसिंह केसीले यस्तो काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्दै यसमा मुछिएका सबै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले उक्त विषयबारे अध्ययन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे । ‘जो, जहाँ, जुनसुकै पदमा भए पनि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ । विभिन्न देशमा पूर्वप्रधानमन्त्री समेत विभिन्न प्रकरणमा परेर कारबाही भएका उदाहरण छन्’, सांसद केसीले भने, “यो प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ ।” सांसद असीम शाहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन आवश्यक रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update