अर्घाखाँची, सन्धिखर्क नगरपालिका–८ का कृषक पुष्कर बञ्जाडेले घोचेखोलामा रहेको हाइटेक प्रविधिभित्र टमाटर मात्रै अहिले एक हजार ८ सय बोट लगाएका छन् । लटरम्मै टमाटर फलेको छ । हाइटेक प्रविधिबाट टमाटरखेती सुरु गरेका उनले एउटा हाइटेकमै लगाएको टमाटर खेतीबाट सात लाख बराबरको टमाटर उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
एकै बोटमा झण्डै १५ केजी टमाटर फल्ने बञ्जाडेको भनाइ छ । दैनिक तीन/चार क्विन्टल टमाटर बेचिरहेका उनको टमाटरले बजार पनि राम्रो पाएको छ । प्रतिकेजी ४० देखि ५० सम्म थोक मूल्यमा टमाटरका साथै तरकारी पनि दैनिक १० हजारको तरकारी सन्धिखर्क बजारमा बिक्री गरिरहेका छन् । बञ्जाडेले २५ रोपनी बारी र सात रोपनी खेतमा तरकारी खेती गर्दै आएका छन् । अन्नखेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीबाट वर्षमा १५/१६ लाख आम्दानी हुँदै आएको छ । उनले गरेको देखासिकीबाट सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ । बञ्जाडेले भने, ‘अन्न हुने यस्ता बारीमा तरकारी खेती गर्छुभन्दा बुद्धि बिग्रेकोे मान्छे भनेर इष्या गर्थे तर तरकारीबाट राम्रो आम्दानी भएपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेसा बनाएका छन् ।’ पचास वर्षीय किमडाँडाका बञ्जाडे जिल्लाकै नमुना कृषक हुन् । सामान्य परिवारमा जन्मिएका उनलाई २०३९ सालमा एसएलसी उत्तीर्ण गरेपछि सरकारी निकायमा स्थायी जागिर खाने अवसर पाउँदा पनि जागिरतिर इच्छा जागेन । महिना पुगेपछि पाइने तलबको जागिर सबैभन्दा टाउको दुखाइ बन्यो ।
जागिरभन्दा उत्पादनमुलक अर्को पेसामा लाग्ने सोच बनाएका बञ्जाडेले तरकारी खेतीबाटै वार्षिक लाखौँ रुपैयाँ कमाएका हुन् । उनले भने, ‘गरेपछि जे काममा पनि सफलता मिल्छ निरन्तर काम गरिरहनुपर्छ अहिले बारीमा आलु, बन्दागोभी, टमाटर, काँक्रोलगायत तरकारी उत्पादन भइरहेका छन् । सुरुमा सानो लगानीबाट तरकारी खेतीको सुरुआत गरेका उनलाई पाँच करोडभन्दा बढीको मालिक बन्न सफलता मिलेको छ । किमडाँडाको पाखोबारीमा अहिले मौसमी तथा बेमौसमी तरकारी बाह्रैमास उत्पादन भइरहेको छ । तरकारीबाट वर्षमा १० लाख सजिलै कमाएपछि सन्धिखर्कमा तीनतले घर बनाए बञ्जाडेले तीन करोडभन्दा बढीको घर र घडेरी जोडिसकेका छन् । यिनै भिरका बारीमा माटोसँग लडेर करोडपति बन्ने सपना पूरा भएको उनले बताए । पाखो बारीमा तरकारीका लागि सिँचाइको पनि साहै समस्या छ । बारीमा आकाशे पनि संकलन गर्न ५० हजार लिटरको आकाशे पानी संकलन गर्ने पोखरी ४० हजार लिटरको ट्याड्ढी बञ्जाडेले बनाएका छन् । त्यहीँबाट सिँचाइ हुन्छ । गाउँबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिएर धेरै यतातिर तानिएका छन् । वर्षातको समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्षअघि भारतको दिल्लीसम्म पुगेको थियो । “अत्यन्तै दुःख गरेर उत्पादन गरेको तरकारी दिल्लीसम्म पुग्दा त्यसबेला मलाई सबैभन्दा गर्व भयो,” पुष्करनाथले भने, “पहाडको तरकारी पोषिलो र स्वादिलो मान्दै सीमानाकाका व्यापारी घरमै आए र त्यो तरकारी दिल्ली पुर्यए ।” –रासस