Shittalpati
गणतन्त्रका प्रन्ध वर्ष : जनचाहना अनुसार उपलब्धी देखिएन

पाल्पा, मुलुकमा गणतन्त्र आएको १५ वर्ष पूरा भएको छ । सोमबार देशैभर विविध कार्यक्रम आयोजना गरी १५ वर्ष पुरा भई १६ औं वर्ष प्रवेशको अवसरमा गणतन्त्र दिवस मनाइयो । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइदैं आइएको छ । तर, जनतामा गणतन्त्र घोषणा हुँदा जुन खालको उत्साह थियो, त्यसपछिको राजनीतिक खिचातानीले  जनतामा निराशा बाहेक केही छैन् । व्यवस्था बदलियो तर जनताको अवस्था भने अझै पनि उस्तै छ ।  

गणतन्त्र स्थापना पछि ढिलै भएपनि जनताले आफ्ना प्रतिनिधिमार्फत संविधान पाए । संविधान जारी भएसँगै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मुख्य चुनौतिको रुपमा रहेका संघ, प्रदेश र स्थानीय तहका निर्वाचनहरु समेत सम्पन्न भए । गणतन्त्र स्थापनासँगै मुलुकको राष्ट्राध्यक्ष हुने अधिकार नागरिकको पहुँचमा पुगेको छ । तर जनताले त्यसको अनुुभूति गर्न पाएका छैनन् । गणतान्त्रिक पद्धतिमा प्रवेश गर्दा पनि मुलुकले समृद्धिको बाटो पक्रन सकेको छैन्, जसले गर्दा आम जनताको जीवनशैली बदलिएन । त्यसैकारण पनि जनतामा उतिबेला देखिएको आशा र उत्साह निराशामा बदलिएको हो । एक हिसाबले भन्ने हो भने गणतन्त्रले आम जनताको जीवनस्तरमा बदलाव ल्याएन, बरु सीमित शासकीय वर्गले मात्रै त्यसको फाइदा उठाए । समाजको तल्लो तहले गणतन्त्रबाट अपेक्षित फाइदा लिनुपर्नेमा हुने–खाने वर्गमा मात्रै सीमित हुनु दुर्भाग्यपूर्ण अवस्था हो । जनताका प्रतिनिधिहरूले १५ वर्षअघि अधिनायकवादी राजतन्त्रको अन्त्य गरिदिएपछि मुलुक विधिवत् रूपमा गणतन्त्रमा प्रवेश गरेको थियो । यो परम्परागत शासकीय पद्धतिको विस्थापनसँगै आम जनताको जीवनमा पनि प्रतिफल देखापर्ने अपेक्षा थियो । तर, जनताको आशामा तुषारापात भएको छ । समग्र मुलुकको विकास र जनताको आर्थिकस्तर उकास्ने भन्दा नेताहरु आफ्नै स्वार्थमा केन्द्रीत भएको अनुभूत जनताले गरिरहेका छन् ।  १२ बर्षमा खोलो फर्कन्छ भन्ने नेपाली उखान नै छ । तर गणतन्त्र स्थापनाका १५ बर्ष वित्दा समेत जनताको अवस्थामा परिवर्तन आउन सकेन ।

सोमबार सरकारले सार्वजनिक बिदा दिएर देशैभर हर्षोल्लासपूर्वक दीप बालेर पन्ध्रौं गणतन्त्र दिवस मनाइरहँदा दैनिक ज्याला मजदुरी गरी जीवन चलाउँदै आएका  पाल्पाका श्रमिक तथा मजदुुरहरुलाई भने चुलो बाल्नै हम्मेहम्मे छ । एउटा राजा फालेर गाउँ–गाउँमा सरकार पुग्ने गरी आएको संघीय लोकतान्त्रिक गणतन्त्र श्रमिक, मजदुरका लागि भने कागलाई बेलजस्तै भएको छ । ‘गणतन्त्र आइसकेपछि हामी जस्ता मजदुरको लागि रोजगारीलगायत केही व्यवस्था हुनुपथ्यो । तर, केही भएन । नेताहरु आफैँ कुर्सीको लागि लड्दै ठीक छ’ सोमबार तानसेनको मखनटोलमा हातमा नाम्लो लिएर कामको खोजीमा भौतारिदै गरेका शंकर कुुमालले भने । ‘२०६० सालदेखि तानसेनमा भारी बोकेरै जिविकोपार्जन गर्दै आएको अहिले २० वर्ष भयो । गणतन्त्रको आन्दोलनमा हामी पनि सहभागी भयौं हो । तर, हाम्रा लागि भने केही भएन । यही भारी बोक्ने काम पनि पहिलेजस्तो पाइदैन । खोइ त हामीलाई सरकारले हेरेको ? भारी नबोके खाने अर्को उपाए छैन ।’ कोभिड पछि सुुस्ताएको तानसेनको बजारमा भारी बोक्ने काम समेत पाउन छोडिसकेको कुमालको गुनासो छ । उनले भने ‘ केही काम गरौं भने पनि नेपालमा अरु उद्योग, कलकारखाना छैन, बालबच्चा पाल्नलाई  धौं धौं छ । जनतन भारी बोकेरै भएपनि बालबच्चालाई हुर्काउने र पढाउने गरेको थिए ।  तर अहिले काम नै नपाएपछि हामीले के गरेर खाने । अनि यो गणतन्त्रले हामीलाई के दियो त ?’ गणतन्त्र आएपछि त हामी जस्ता गरिबलाई त यस्ता कुरामा हेर्नुपथ्यो तर सरकारले हेरेन गहभरी आँसुु झार्दै कुुमालले गुनासो पोखे । उनको जस्तै सुुन्तली नेपालीको पनि व्यथा उस्तै छ । तानसेनमा घर बनाउने काम गर्दै आएकी नेपालीले पनि गणतन्त्रको कुनै पनि अनुभूति नभएको बताउँछिन् । उनलाई ज्याला मजदूरी गरेर दैनिक पाँच सय रुपैयाँबाट छोराछोरीको पढाइ र घर खर्च चलाउनुपर्ने बाध्यता छ । ‘गणतन्त्र आएपछि देशमा केही हुन्छ कि भन्ने आशा पलाएको थियो तर, १५ वर्ष बित्यो हामी मजदूरको अवस्था उस्तै छ,’ उनले भनिन्, ‘प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता सबै आयो । हाम्रो अवस्थामा खै कुनै परिवर्तन आएन ।’ गणतन्त्र दिवसको अघिल्लो दिन रिडी खोलाको बगरमा भेटिएकी गुल्मी चन्दकोटकी मीना दर्जीलाई गिट्टी नकुटे साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय छैन् ।  खोला छेउछाउ दिनभर गिट्टी कुटेर दर्जीले ५ जनाको परिवार पाल्दै आएकी छन् । खोला छेउछाउ पुगेर ढुङ्गा खोज्ने अनि, दिनभर शीतल छहारीमा बसेर गिट्टी कुट्ने कामले दर्जीलाई दिन गएको पत्तो हुँदैन । ‘के श्रमिक दिवस के गणतन्त्र ? केही थाहा छैन’ मुुसुुक्क मुुस्कुुराउँदै उनले भनिन् । ‘गणतन्त्र आयो त भन्छन्, खै हामी मजदूरी गरेर खानेलाई गणतन्त्रको कुनै महशुस नै हुनसकेको छैन,’ उनले थपिन ‘बूढेसकाल लागिसक्यो । गणतन्त्र आयो तर, हाम्रा दिन फेरिएनन् ।’ कुमाल, दर्जी र नेपाली त केही प्रतिनिधि पात्रा मात्र हुुन् । उनीहरु जस्ता धेरैको अवस्था उस्तै छ ।

गुल्मी हस्तिचौरका नारायण मरासीनी गणतन्त्र ल्याउन आन्दोलन गर्ने एक योद्धा हुुन । देशले कोल्टे फेर्छ भन्ने सपना बोकेर परिवारसँग विद्रोह गरेका उनी सरकारी शिक्षकको जागिर नै छोडेर आन्दोलनमा होमिएका थिए । शिक्षकसँगै विद्यार्थीलाई समाजका लागि विद्रोह गर्न आग्रह गर्दै हिड्ने  उनी  कैयौं पटक समातिए । पटक–पटक निलम्बनमा परे । तर, उनले दुःखी नेपालीको सपना देख्न छाडेनन् । उनका बुवा पुर्खयौली पेसा अपनाउन आग्रह गर्थे । तर, परिवर्तनको पक्षमा मरासीनी निरन्तर वकालत  गरी हिँड्थे । देशमा परिवर्तन पनि आयो । तर फेरिएन उनको जिन्दगी । न उनले परिवर्तन गर्न चाहेको वर्गले नै परिवर्तनको आभास गर्न पाए ।

देशका सबै नागरिकले गणतन्त्र आएको महसुस गर्नुपथ्यो तर,उनीहरुले गणतन्त्रको महसुस गर्न सकेका छैनन् । गणतन्त्र आएपछि केही राम्रा काम नभएका होइनन् । तर, जनताले जति आशा गरेका थिए त्यस अनुसारको उपलब्धी उनीहरुले महसुस गर्न सकेनन् । रोजगारीदेखि आर्थिक विकासको विषयमा देशले गति लिन नसकेकै कारण आम जनताले गणतन्त्रको अनुुभूूत गर्न नसकेका हुन् ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update