काठमाडौं, आगामी आर्थिक वर्षको बजेटमा चलचित्र क्षेत्रलाई उचित सम्बोधन नगरिएको भन्दै चलचित्रकर्मीले असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले बजेटको छलफलमा समेत चलचित्र क्षेत्रलाई सहभागी नगराइएको गुनासो गरे । ‘हामीले अहिलेको आवश्यकताबारे चलचित्र विकास बोर्डमार्फत सरकारलाई जानकारी गराएका थियौँ । तर, त्यसको केही सम्बोधन भएन । चलचित्र क्षेत्रको विकासका लागि सरकारले यस क्षेत्रमा लगानी गर्नाका साथै नीतिगत सुधारमा आवश्यक कदम चाल्नु विकल्प छैन्’, अध्यक्ष पराजुलीले भने ।
उनले चलचित्र क्षेत्रले देशको अर्थतन्त्रमा टेवा पु¥याउने भए पनि यो क्षेत्रलाई सधैँ उपेक्षा हुने गरेको गुनासो गरे । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बजेटले अन्य क्षेत्रलाई समेटेर प्रोत्साहन गरेको भए पनि चलचित्रकर्मी उत्साहित हुने कुनै कार्यक्रम नआएको बताए । ‘हामीले बोर्डमार्फत आफ्नो क्षेत्रलाई सरकारले समेट्नुपर्ने बुँदाहरू बुझेका थियौँ । तर सदाझैँ केही नयाँ सम्बोधन भएनन् । अन्य क्षेत्रलाई झैँ चलचित्र क्षेत्रप्रति पनि सरकार गम्भीर हुनुपर्छ भन्ने हाम्रो माँग छ”, अध्यक्ष खड्काले भने ।
चलचित्रकर्मी अशोक शर्माले दोलखा र काभ्रेमा स्टुडियो बनाउने विषय हरेक वर्षको बजेटमा आए पनि पर्याप्त बजेट नहुँदा कागजमै सीमित रहेको बताए । “उद्योगका लागि निर्माण, प्रदर्शन र वितरण क्षेत्रमा कुनै पनि कुरा आएको छैन । चलचित्रकर्मीका लागि यो निराशाजनक बजेट भएको छ”, निर्माता शर्माले भने । सोमबार संघीय संसद्को बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा चलचित्र पर्यटन प्रवद्र्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने उल्लेख छ । सार्वजनिक–निजी साझेदारीमा दोलखा र काभ्रेको बनेपामा स्टुडियो (भित्र छायाङ्कन गर्न मिल्ने) बनाउने घोषणा गर्दै चलचित्र पर्यटनको विकास गर्ने उद्देश्यले ती स्टुडियो निर्माण गर्न लागिएको सरकारको भनाइ छ । यसबाहेक सरकारले बौद्धिक सम्पत्तिको संरक्षण र विकास विस्तारका लागि कानुन बनाउने समेत बजेटमा उल्लेख गरेको छ । –रासस