पाल्पा, तानसेनको टुँडिखेलमा जारी कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिताको चौथो दिन विहीबार भएको खेलमा स्वयम्भू युथ क्लब काठमाडौं विजयी भएको छ । विष्णु पादुका युथ क्लब पोखरालाई २–१ गोलले पराजित गर्दै स्वयम्भु युथ विजयी भएको हो ।
खेलमा स्वयम्भुका उत्तम शाहीले दुबै गोल गरेर टिमलाई विजयी बनाउन सफल भएका हुन् । खेल सुरु भएको २८ औं मिनेटमा उत्तमले पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै शाहीले पुनः ४१ मिनेटमा अर्को गोल थपेर टिमलाई बलियो स्थितिमा पुर्याए। दोस्रो हाफमा आक्रामक खेलेको विष्णु पादुकाले ६१ औं मिनेटमा सान्तवना गोल गरेर २–१ को नतिजामा पुर्याए। दुई गोल गरेर म्यान अफ द म्याच स्वयम्भुका उत्तम भए । उनले नगद ३ हजार पाए ।
शुक्रबार पाल्पा ११ र फोर ब्रदर्श फुटबल क्लब पश्चिम नवलपरासी बीच क्वार्टर फाइनल खेल हुने आयोजक पाल्पा जिल्ला फुटबल संघले जनाएको छ । स्वयम्भु २२ गते नेपाली सेनाको दि फेमस महिन्द्र दल गण पाल्पासँग खेल्ने रेफ्री संयोजक विमल जीसीले जानकारी दिए । खेल जेठ १५ गतेदेखि सुरु भएको हो । उद्घाटन खेलमा पाल्पा ११ विजयी भएको छ । पाल्पा ११ ले रुपन्देहीको लिस्नु क्लबलाई २ गोलले पराजित गर्दै उद्घाटन खेलमा विजयी भएको हो ।
यस्तै खेलको दोस्रो दिन २८ बिघा पूर्व नवलपरासीले रूपन्देही–११ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको छ भने खेलको तेस्रो दिन चितवनको सेन्ट्रल कलेज रामपुर फुटबल क्लब रोड्स क्वाटरफाइनल पुगेको छ । रोड्सले न्यु युथ युनियन फुटबल क्लब पाल्पालाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको थियो । खेल जेठ २७ गतेसम्म चल्ने छ । जसमा विजेताले ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैयाँ पाल्पाली करुवा ट्रफी, मेडल पाउने संघका अध्यक्ष प्रणय वीरजंग राणाले बताए ।