गुल्मी, लामो समयको कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र अझै पनि माथि उठ्न सकेको छैन । देशका धेरै प्रख्यात पर्यटकीय क्षेत्रहरु अहिले पनि सुुनसान जस्तै छन् । स्थानीय, प्रदेश र संघीय सरकारको प्राथमिकतामा पर्यटकीय क्षेत्र नपरेका कारण पनि थुप्रै पर्यटकीयस्थलहरु सुनसान छन् । ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल गुल्मीको रेसुङ्गा पनि कोरोना महामारीका कारण लामो समयसम्म नै सुनसान नै रहयो । यहाँ अहिले भित्रिने पाहुना छैनन् । विदेशीको आगमन त परैको कुुरा, स्वदेशी पाहुना समेत निकै कम मात्रमा घुम्न पुग्ने गरेका छन् ।
यस्तो अवस्थामा रेसुुङ्गा नगर सरकारले भने पर्यटक भिर्याउने नयाँ जुक्ति अवलम्वन गरेको छ । उसले रेसुङ्गा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भिर्याउन ‘जाउँ हिड रेसुङ्गा’ भन्ने अभियान चलाएको छ । रेसुङ्गाको प्रचार–प्रसार एवं पर्यटन प्रवद्र्धनका लागि अभियान सञ्चालन गरिएको नगरप्रमुख खिलध्वज पन्थीले बताए । उनले भने ‘पर्यटनबाट समुन्नतिको आधार तय गर्न सकिन्छ, प्रचुर सम्भावना हुँदा–हुँदै पनि पछि परेको रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भिर्याउन अभियानमार्फत लागेका हौं ।’ ‘तीव्र बसाइसराइका कारण वस्ती खालि हुँदैछन् । जिल्लामा रहेका ऐतिहासिक स्थलहरुको प्रचार–प्रसार गरी आर्थिक अभियानमा महत्वपूर्ण योगदान पुर्याउनुपर्छ । बसाइसराईलाई रोक्ने हाम्रो ध्यय पनि हो’ नगर प्रमुख पन्थीले भने । अभियानका माध्यमबाट ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचार–प्रसार भई पर्यटकहरुको आगमनले रोजगारीको सिर्जना हुने उनले बताए । अभियानले यहाँ रहेका तम्घासस्थान मन्दिर, गर्जुरा पार्क, रेसुङ्गा महापोखरी, यज्ञशाला, सिद्धबाबा, सानो रेसुङ्गा, इस्मा दरबार, कंके देउराली, भुवाने पार्क, विचित्र गुफा, गौशाला, रिडिधाम, मुसिकोट दरबार, गुल्मी दरबार, सरायँ नाँच लगायतका क्षेत्रहरुको प्रवद्र्धनमा समेत महत्वपूर्ण टेवा पुग्ने नगर प्रमुख पन्थीले विश्वास व्यक्त गरे । नगरपालिकाले आगामी आर्थिक वर्षमा एक लाख पर्यटन भिर्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षमा लगानी सम्मेलन तथा पर्यटकी गतिविधि सञ्चालन गर्ने उद्देश्यले भ्रमण वर्षको रुपमा मनाउने समेत नगर प्रमुख पन्थीले बताए । स्थानीय परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले खाना महोत्सव समेत गरिने उनको भनाइ छ ।
पर्यटन व्यवसायी सुर्दशन खनालले सरकारको साथ नभए व्यवसायीले लगानी नगर्ने बताए । उनले नगर सरकारलाई नीजि क्षेत्रसँग समन्वय गरी अगाडि बढ्न आग्रह गरे । ‘सालझण्डी–तम्घास सडक निमार्ण भएपछि यहाँको पर्यटन क्षेत्र माथि उठ्छ’ उनले भने, ‘निजामति सेवामा यस जिल्लाका धेरै सेवारत हुनुहुन्छ । निजामती क्षेत्रलाई प्रयोग गरी लाभ लिन सक्ने अवस्था छ ।’ नगरपालिकाले सबै पक्षसँगको समन्वयमा आफ्ना गतविधिहरुलाई सञ्चालन गरेको भन्दै व्यवसायीहरु पनि उत्साहित भएको उनले बताए । रेसुङ्गा सरंक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले नगरपालिकाले सञ्चालन गरेको यो अभियानले थप रेसुङ्गामा धार्मिक पर्यटनको विस्तार र विकासका लागि सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।