पाल्पा, पछिल्लो समय पाल्पामा सवारी दुर्घटना बढ्न थालेपछि न्यूनिकरणमा चासो देखाइएको छ । चालकको लापरवाही र पुराना सवारी साधनका कारण अधिकांस दुर्घटना भएको भन्दै त्यसलाई न्यूनिकरण गर्न सम्बन्धित निकायले चासो देखाएका हुन् ।
जिल्लाका ट्राफिक कार्यालय, श्रीनगर यातायात सेवा कम्पनी प्रालिले बढ्दो दुुर्घटना न्यूनिकरणका लागि चालक, सहचालकको स्वास्थ्य परीक्षणदेखि सवारी जाँच गरेका छन् । चालक, सहचालक अस्वस्थ हुनु र सवारी साधनका यान्त्रिकरणको अवस्था समेत ठिक नहुनुुले दुर्घटना हुने गरेको भन्दै त्यसको समाधानका लागि स्वास्थ्य परीक्षण र सवारी साधन जाँच गरिएको हो । लायन्स लाकौल आँखा अस्पताल, पाल्पा अस्पताल, यातायात व्यवस्था सेवा कार्यालय र नेपाल रेडक्रस सोसाईटीको सहजीकरणमा बुुधबार ७० जना चालक, सहचालक र ४१ सवारी साधन परीक्षण गरिएको छ । पाल्पाबाट छुट्ने लामा तथा छोटा दुुरीका सवारी साधनको जाँच र चालक, सहचालकको स्वास्थ्य परीक्षण गरिएको हो । सवारी दुर्घटनाले ठूूलो जनधनको क्षति भएसँगै दुर्घटनामा कमी गराउने उद्देश्यले सवारी चालक, सह चालक, र सवारी साधानको यान्त्रिकरण जाँच गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख दामोदर मल्लले बताए । उनले भने,‘ चालक र सहचालकमा उच्च रक्ताचाप, आँखामा कमजोरी, जस्ता समस्या हुुन सक्छन्, त्यति मात्र होइन सवारी सधानहरु पनि पुराना,यात्रिन्करण विग्रीएका हुन सक्छन्, जसले गर्दा दुर्घटना निम्त्याउन्छ, त्यसलाई रोक्नका लागि हामीले स्वास्थ्य परीक्षण र यान्त्रिकरण जाँच गर्ने अभियान नै थालेका हों ।’ अभियानको बुुधबार एक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिका ६ का वडा अध्यक्ष सागरमान महर्जनले दुर्घटना गराउनमा चालक, सहचालक र सवारी साधानको अवस्थाले महत्वपूणृ भूमिका खेल्ने बताए । उनले दुर्घटनाको कारणलाई नै पहिचान गरेर ट्राफिक प्रहरी र श्रीनगर यातायातले जुन किसिमको अभियानको सुुरुवात गरेको छ त्यो प्रशंसनिय रहेको बताए । अध्यक्ष महर्जनले भने,‘साँघुरा सडकसँगै जनघनत्वमा वृद्धि, सवारी साधनको संख्यामा वृद्धि हुँदै गएकाले सडक दुर्घटनाको जोखिम बढाएको छ । यस्तो अवस्थामा चालक, सहचालक र सवारी चेकजाँचले दुर्घटना न्यूनिकरणमा भने महत्वपूर्ण भूमिका खेल्ने छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम भट्टले दुर्घटना हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका मन्त्री केशव नेपाल, आँखा अस्पतालका कार्यक्रम संयोजक सन्तोष दर्जी, पाल्पा उद्योग वाणिज्य संघका महासचिव समिरमान सिंह, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की, सामुदायिक सेवा केन्द्रका जयप्रकाश उप्रेती लगायतले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक कार्यालय र श्रीनगर यातायातले सञ्चालन गरेको अभियान सकरात्मक रहेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीराम भट्टको अध्यक्षता, यातायात व्यवसायी तथा श्रीनगर यातायात सेवाका किरण चित्रकारको स्वागत, कम्पनीका कार्यालय प्रमुख भविन्द्र गौतमको सञ्चालनमा कार्यक्रम भएको थियो ।