Shittalpati
पाल्पा अस्पताललाई रिफर हैन उपचार केन्द्र बनाउँछौं : अध्यक्ष आत्रेय

पाल्पा, सरकारी अस्पतालको रुपमा रहेको पाल्पा अस्पतालाई पछिल्लो समय धेरैले रिफर सेन्टरको रुपमा परिणत भएको आरोप लगाउँदै आएका छन् । सरकारले स्वास्थ्य बीमा गरेका विरामीहरुलाई उपचारको लाागि अनिवार्य रुपमा सरकारी स्वास्थ्य संस्था मै जानुपर्ने प्रावधान गरे पनि पाल्पा अस्पतालले अधिकांस विरामीहरुको रिफर गर्दै आएपछि अस्पताललाई रिफर सेन्टर भएको धेरैले आलोचना गर्ने गरेका हुन् । 

अस्पतालमा पुगेका विरामीहरुको त्यही नै उपचार नगरेर रिफर गर्दै आएको अस्पताल माथि आरोप लाग्दै आएको बेला पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले भने अस्पताललाई रिफर हैन उपचार बेन्द्र बनाउने अठोट लिएका छन् । अध्यक्षमा नियुक्ति भएको  छोटो समयमै अस्पतालको सेवालाई गुणस्तरीय र व्यवस्थापनलाई चुस्त बनाउने प्रयासको थालनी गरेका आत्रेयले अस्पतालाई उपचार केन्द्रको रुपमा विकास गरेर लैजाने बताएका छन् । अस्पतालले थालेको सेवा सुविधा र जनशक्तीबारे विहीबार आयोजना गरेको पत्रकारहरुसँगको अन्तक्र्रिया कार्यक्रममा उनले अस्पतालको सेवालाई थप गुणस्तरीय बनाउदै उपचार केन्द्रको रुपमा लैजाने गरी आफुहरु लागेको बताएका हुन् ।

अध्यक्ष आत्रेयले भने ‘रिफर अस्पताल भनेर चिनिएको अस्पताललाई अब हामी उपचार केन्द्र बनाउँछौं ।’ स्वास्थ्य परीक्षण र औषधीको लागि रिफर लिनुपर्ने अवस्थाको अन्त्य गर्ने उनले बताए । अध्यक्ष आत्रेयले भने ‘औषधिको लागि रिफर लिनु नपर्ने बनाउनका लागि अस्पतालको फार्मेसीमा नियमित खाने औषधि राख्ने प्रयास गरिएको छ । बीमा गरेका विरामीहरुलाई बीमाबाटै औषधिको व्यवस्था गरिएको छ भने गरिब, असहायलाई सामाजिक सेवा अन्तर्गत निःशुल्क औषधिको व्यवस्था गरेका छौं ।’ अस्पतालमा कुनै पनि औषधिको  अभाव नहोस् भन्नका लागि बजेट विनियोजन गरी टेन्डरमार्फत खरिद गरिएको उनले बताए ।  उनले हिजोका समस्याबाट पाठ सिकेर धेरै सुधारको प्रयास गरेको धारणा व्यक्त गरे । अध्यक्ष आत्रेयले ल्याव सेवालाई व्यवस्थित गर्ने, कर्मचारी अभाव परिपूर्तिका लागि सम्बन्धित निकायसँग पहल गर्ने, नयाँ भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गर्ने, अस्पतालका लागि आवश्यक उपकरण प्रदेश र केन्द्र सरकारसँग माग गरिएको बताए । अक्सिजन प्लान्ट पूर्ण रुपमा सञ्चालन गरी सेवा प्रवाह गरिरहेको समेत उनले बताए । अध्यक्ष आत्रेयले नियमित अनुगमन गरी सेवालाई चुस्त बनाउने, अप्रेसन सेवा सुरु गर्ने, एम्बुलेन्स थप गर्ने, टिकटका लागि अनलाईन प्राणाली लागु गर्ने, नयाँ भवन बनाउने, भिडियो एक्सरेका लागि प्राविधिक जशक्ति व्यवस्थापन गर्ने अठोट लिएका छन् ।

कार्यक्रममा अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर विवेक भण्डारीले अस्पतालको वर्तमान अवस्था, कार्यरत दरबन्दी, सेवाको प्रकार र अस्पतालको आगामी कार्यदिशाबारे प्रस्तुतीकरण गरेका थिए । उनले गत साउन १ देखि वैशाखसम्म ६९ हजार ८ सय ७२ जनाले सेवा लिएको बताए । विगतमा सेवा लिने विरामीको दर कम भए पनि अहिले भने केही बढेको उनको भनाई छ । डा.भण्डारीका अनुसार सेवालाई थप व्यवस्थित बनाउदै लगिएकाले पनि सेवा लिन आउने विरामीको संख्यामा वृद्धि भएको हो । अस्पतालको सेवाले गति लिए पनि दरबन्दीअनुसारको चिकित्सक र स्वास्थ्यकर्मी अझै पाउन नसकेको उनको गुनासो छ । दरबन्दी अनुसार ६० जना स्वास्थ्यकर्मी अस्पतालमा हुनुपर्ने भए पनि हाल १६ जना मात्र उपलब्ध भएको उनले बताए । ‘सरकारको दरबन्दी अनुसार अस्पतालमा ६० हुनुपर्नेमा जम्मा नेपाल सरकारबाट १६ जना उपलब्ध छन् । बाँकी सबै व्यवस्थापन समिति, नेपाल सरकारको करार र विभिन्न कार्यक्रममार्फत पूर्ति गरेका छौं’, उनले भने । अस्पतालमा ११ जना विशेषज्ञ चिकित्सको दरवन्दी भए पनि एक जना पनि नरहेको भण्डारीले जानकारी गराए । अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, स्त्री रोग, प्रसूति सेवा दिइरहेको उनले बताए । ‘शल्यक्रिया, दन्तरोग, मानसिक रोग, फिजियो थेरापी, आँखा जाँच, स्वास्थ्य बीमा सेवा, अल्ट्रासाउण्ड सेवा सञ्चालन भइरहेको छ’, डा भण्डारीले भने ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पहिले भन्दा अहिले अस्पतालको सेवामा धेरै सुधार आएको बताए । उनले भौतिक पूर्वाधार निर्माणमा ध्यान दिन अस्पतालाई आग्रह गरे । कार्यक्रममा जिल्लाका पत्रकारहरुले स्वास्थ्य क्षेत्रको साख जोगाउँदा जिल्लाकै सान बढ्ने भन्दै अस्पतालको सेवालाई थप गुणस्तरीय बनाई अस्पतालमा आएका बिरामीहरुलाई उपचार गराएरै पठाउने वातावरण सिर्जना गर्ने दिशामा सोच्न अस्पतालाई सुझाव दिए । उनीहरुले सरकारी अस्पताल जनताको अस्पताल हो भन्ने सन्देश दिन अस्पतालाई आग्रह गरे । अस्पताल प्रशासन शाखाका सुशिल ज्ञवालीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update