पाल्पा, जिल्लाको रामपुरमा स्वास्थ्यकर्मीका लागि अभिमुुखिकरण कार्यक्रम गरिएको छ । रामपुर नगर सरकारले नगरभित्र सञ्चालित क्लिनिक तथा पारामेडिक्सका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुका लागि एन्टिबायोटिक प्रिस्क्रिपसन तथा स्वास्थ्य सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।
नगरभित्र सञ्चालित स्वास्थ्य संस्था र स्वाथ्य शाखाका स्वास्थ्यकर्मीहरुका लागि एन्टिबायोटिकको प्रयोग र अन्य विभिन्न स्वास्थ्य सम्बन्धी जानकारी गराइएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले स्वस्थ नागरिक र स्वस्थ नगर निर्माणका लागि नगरपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताईन् । उनले नगरपालिका भित्र रहेका अस्पतालमार्फत सहज र प्रभावकारी सेवा प्रदान गर्र्ने कुरामा नगर सरकार प्रतिवद्ध रहेको धारणा व्यक्त गरिन् ।
लुम्बिनी मेडिकल कलेज प्रभासका नसा तथा मनरोग विशेषज्ञ डाक्टर राजेश श्रेष्ठले नगर भित्रै गुणस्तरीय विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सेवा आजको आवश्यकता रहेको उल्लेख गरे । उनले भने ‘यस्तो सेवाका लागि सबै सरकारी र निजी क्षेत्र र सरोकारवाला सबैको ध्यान जानुपर्छ ।’ रामपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर विजय परियारले अस्पतालमा विशेषज्ञ सहितको सेवा सञ्चालन गर्नका लागि पहल भईरहेको भन्दै सरकारी मात्र नभई निजी स्वास्थ्य संस्थाले पनि जनताको विश्वास जितेर सेवा प्रदान गर्नु पर्ने बताए । गाँडाकोट स्वास्थ्य चौकीका प्रमुख मजिबुर रहमान शेख, पूर्वी पाल्पा औषधी व्यवसायी संघका अध्यक्ष निरज श्रेष्ठ लगायतले नगरवासीको स्वास्थ्य कस्तो बनाउने भन्ने विषय निजी र सरकारी स्वास्थ्य संस्थाहरुको हातमा रहेको उल्लेख गरे । कार्यक्रममा नसा तथा मनरोग विशेषज्ञ डाक्टर राजेश श्रेष्ठ, रामपुर अस्पतालका मेसु डाक्टर विजय परियार, डाक्टर शंकर श्रेष्ठ , डाक्टर प्रतिक्षा श्रेष्ठले एन्टिबायोटिकको प्रयोग, यसको दीर्घकालिन असर विरामीलाई बुझाउनु पर्ने कुराका विषयमा जानकारी गराएका थिए । नगरपालिका सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।