पाल्पा, पाल्पामै पहिलो पटक सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाको लागि आवेदन खुला गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेठ ३० गतेदेखि अनलाइन प्राणालीमार्फत मोटरसाइकल र स्कुटीको लाइसेन्सको लागि आवेदन खुला गरेको जनाएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै मोटरसाइकल तर्फ वर्ग (A) र स्कुुटरतर्फ वर्ग (K) को नयाँ लाइसेन्स जारी गर्न आवेदन खुला गरिएको जनाएको छ । लाइसेन्सका लागि परीक्षा दिने प्रशिक्षार्थीले अनलाइनमार्फत परीक्षा दिन सक्ने कार्यालय प्रमुख केशव सुनारले जानकारी दिए । तानसेन –७ बर्तुंङमा रहेको सेवा कार्यालयबाट उक्त सेवा दिइने छ ।
कार्यालय जेठ ४ गतेदेखि लाइसेन्स नविकरणको सेवा समेत दिइरहेको छ । जिल्लाबाटै लाइसेन्स दिने र नविकरणको सेवा सुरु भएसँगै सेवाग्राहीलाई सहज भएको छ । लाइसेन्सको सम्पूर्ण कामका लागि बुटवल, पोखरा जानुपर्ने बाध्यता हटेको भन्दै सवारी चालकहरु समेत उत्साहित भएका छन् ।
पाल्पामा सवारी चालक परीक्षण केन्द्र (ट्रायल सेन्टर) को समेत निर्माण भएको छ । यातायात व्यवस्था सेवा कार्यालयले तानसेन नगरपालिका ७, ठाँटी क्षेत्रमा ट्रायल सेन्टर निर्माण गरेको हो । यातायात व्यवस्था विभागको स्विकृती पछि ट्रायल सेन्टरको सेवा समेत सञ्चालनमा ल्याइने यातायात व्यवस्था कार्यालय पाल्पाका प्रमुख सुनारले बताए । सेन्टरको २०७८ चैतमा लुम्बिनी प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्थामन्त्री पुर्मती ढेँगाले शिलान्यास गरेकी थिइन् । ट्रायल सेन्टरबाट पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँचीका बासिन्दा लाभान्वित हुनेछन् ।