नेपाली राजनीतिमा पुनः वाम एकताको बहस सुरु भएको छ । राजनीतिमा विभिन्न खेमामा विभाजित वाम घटकहरूबीच फेरि नेकपा ब्युँताएर वाम एकता गर्ने बहस सुरु भएको हो । नेपालका कम्युनिष्ट पार्टीहरु बिचको एकताको बहस बेला बेलामा आउँने गर्छ । यो पटक पनि पुरानै नेकपा ब्युँताउने चर्चा सुरु भएको छ । केही समयदेखि वृहत्त लोकतान्त्रिक वाम एकताको प्रसँग चलिरहेको छ । एमाले, समाजवादी र अन्य साना दलहरुको एकतासँगै माओवादी समेतलाई मिलाएर लैजाने प्रयासमा लागेका बामदेव गौतम थाकेपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले जागर चलाएका छन् । नेपालले नेकपा ब्युँताउन प्रस्ताव अघि सारेसँगै वाम घटकहरूमा फेरि एकताको बहसले ठाउँ पाएको हो । पार्टी नेताहरूले एकपछि अर्को गर्दै पार्टी छाड्न थालेपछि अध्यक्ष नेपालले नेकपा ब्युँताउने प्रस्ताव अघि सारेको कतिपयको टिप्पणी छ । पछिल्लो समय पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै नेकपा एसका नेताहरू पूर्वपार्टी नेकपा एमालेमै फर्किने क्रम बढेपछि अध्यक्ष नेपालले नेकपा ब्युँताउने प्रस्ताव अघि सारेको धेरैको आंकलन छ ।
राजनैतिक दलहरुप्रतिको वितृष्णाका स्वरहरु मौलाउँदै गएको बेला मुलुकका केही नयाँ र पुराना वामदलहरु बीच एकताको सन्देश आउँनु आफैमा राम्रो पक्ष हो, तर एकता वास्तविकतामा आधारित हुनुभन्दा कतै चर्चै चर्चामै मात्र सिमित हुने त होइन भन्नेहरु पनि कम छैनन् । यसले नेपालका वाम विचार राख्ने दलहरु बिचको सहकार्यताले सार्थकता पाउँछ या पाउँदैन भन्ने अर्को बहस पनि राजनैतिक क्षितिजमा मडराई रहेको अनुभूति भइरहेको छ । समाजवादीका अध्यक्ष र नेता बामदेव गौतम एमालेसहितको नेकपा ब्युँताउने अभियानमा छन् । तर समाजवादी र एमालेका नेताहरु नै तत्काल यो सम्भव देख्दैनन् । जिल्लास्तरका नेताहरु नै एकताको विश्वसनीयता छैन भन्ने कुरामा दृढ छन् ।
लोकतन्त्रमा दलीय राजनीतिका विभिन्न अवयवहरुका कारण लोकतन्त्रलाई संस्थागत गर्न सकिन्छ भन्ने मूल्य र मान्यताको खिल्ली उठाएको आरोप खेपिरहेका नेपालका दलहरुले निर्वाचनका बेला चिन्ह फेर्ने भन्दा पनि आफ्नो पहिचान नगुम्ने गरी जनपक्षीय रुपमा अगाडि बढ्नु नै आजको आवश्यकता हो । यदि त्यसो भएन र खाली एकता र अनेकताका वाजा मात्रै बजाउँने हो भने मुलुकको विकास र नागरिकका चाहानाहरु परिपूर्ति हुन सक्दैनन् । पार्टी अनि नेता मिलौं र नागरिक माथि राज गरौं भन्ने मान्यताको अन्त्यका लागि लोकतन्त्र संस्थागत हुने परिपार्टीबाट अगाडि बढ्नुपर्छ । निर्वाचन जित्नका लागि मात्रै गठबन्धनका माध्यमबाट चिन्ह फेर्ने भन्दा पनि राम्रा कामले जनताको मनोभावनालाई आत्मसात गरेर अगाडि बढ्नु नै आजको आवश्यकता हो । निर्वाचनबाट कमजोर हैसियतमा पुगेका वाम पार्टीहरु एक ठाउँमा उभिएर शक्तिआर्जन गर्नुपर्ने बाध्यतामा छन् । तर, विचार र व्यवहारमा फराकिलो अन्तर देखिएका यी पार्टीबीचको एकता भने सहज देखिँदैन ।