Shittalpati
पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जना कारागार चलान

पाल्पा, नक्कली भुटानी शरणार्की प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित १६ जना केन्द्रीय कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनीहरू शुुक्रबार केन्द्रीय कारागारमा चलान भएका हुन् ।

मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालतले आदेश दिएको  थियो । सो आदेश अनुसार नै उनीहरुलाई कारागार चलान गरिएको हो । 

अभियुक्तमध्ये टंक गुरुङ र लक्ष्मी महर्जनलाई भने धरौटीमा रिहा गर्ने आदेश दिएको छ । महर्जनलाई ५ लाख र गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको हो । यो मुद्दामा १२ जना भने अझै फरार छन् । जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले १६ अभियुक्तलाई कारागारमै राखेर मुद्दा किनारा लगाउने गरी आदेश दिएको हो ।
२०७९ चैत १२ मा गिरोहका नाइके केशव दुलाल‚ सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेपछि प्रहरीले अदालतबाट म्याद थप गरेर अघि बढाएको अनुसन्धानका क्रममा पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पक्राउ परेका थिए । 

कानुन व्यवसायीहरूले अभियुक्तहरूलाई थुनामै राखेर मुद्दालाई अघि बढाउनुपर्ने तर्क गरेका थिए । धरौटीमा वा तारेखमा छोड्दा प्रमाण नष्ट हुने र जाहेरीकर्तालाई जोखिम हुने भन्दै अभियुक्तहरूलाई थुनामा राख्न आदेशको माग गरिएको  थियो । 
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेबाट थुनछेक बहस सुरु भएको थियो । तीन दिन सरकारी वकिल र उजुरीकर्ताको तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलले बहस गरेका थिए ।


 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update