अर्घाखाँची,अर्घाखाँचीको शीतगंगा नगरपालिकाले जेष्ठ नागरिकलाई चौरासी पूजा गर्न आर्थिक सहयोग प्रदान गर्न सरुआत गरेको छ । आर्थिक अवस्था दयनीय भएर चौरासी पूजा गर्न नसक्ने जेष्ठ नागरिकलाई २५ हजार नगदसहित नगरपालिकाले सम्मानको थालनी गरेको हो ।
आर्थिक सहयोग पाएकामा जेष्ठ नागरिक खुसी भएका छन् । चुनावको सययमा नगरप्रमुखले बोलेका बाचा पूरा गरेकामा शीतगंगा ३ का जेष्ठ नागरिक खिमानन्द पौडेल निकै खुसी भए । ग्रामीण क्षेत्रका धेरै जेष्ठ नागरिकले चौरासी पूजाका लागि नगरपालिकासँग आर्थिक सहयोग गर्न माग गरेका थिए । तीन सय १९ जेष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको नगरप्रमुख छविलाल पौडेलले बताए । नगरका १४ वडाका वृद्धवृद्धालाई लक्षित गरी ८० लाख बजेटबाट जेष्ठ नागरिकलाई सम्मानसहित नगद वितरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको भनाइ छ । कम खर्चमा चौरासी पूजा गरेर बचेको रकमबाट मन लागेका खानेकुरा खान र औषधोपचार गर्नलाई केही भए पनि राहत पुगेको जेष्ठ नागरिकको भनाइ छ । शीतगङगा भौगोलिक दृष्टिकोणमा सबैभन्दा ठूलो नगरपालिका हो । –रासस