रामचन्द्र रायमाझी
पाल्पा, गाउँ–गाउँ पुग्नका लागि सडकका ट्रयाक खोलिए । नदी र सामान्य खोल्सामा पुल बने । दुर्गमका बासिन्दाले विकास र समृद्धिको महसुस गर्न सक्ने अवस्था आयो तर वर्षौदेखि नदी किनारमा डुंगा चलाएर जिविकोपार्जन गर्दै आएका बोटे भने थप गरिबीको दुश्चक्रभित्र फस्दै गए । अहिले कालीगण्डकी नदीका हरेक घाटहरुमा पुल निर्माण भएका छन् । पुल बनेपछि डुंगामा सवार गर्नेहरु पुलबाटै यात्रा गर्न थालेपछि बोटे समुुदाय सकसमा परेको छ । पुर्खौदेखि उनीहरुले डुंगालाई रोजीरोटीको माध्यम बनाउँदै आए थिए । विकास क्रमसँगै अहिले कालीगण्डकी किनारका बोटेहरुको रोजगारी नै खोसिएको छ ।
बगनासकाली गाउँपालिका स्थित दर्पुकका ६५ वर्षीय नरबहादुर बोटेले कालीगण्डकी नदीको माइचौरघाटमा ३५ वर्षसम्म डुंगा चलाए । डुंगा चलाएरै ५ जना छोरा छोरी हुर्काए । तर अहिले यहाँ झोलुंगे पुल बनेपछि भने उनको आम्दानीको स्रोत नै बन्द भएको छ । उनी भन्छन् ‘उमेरले डाँडापारिको घाम जस्तै भएको छु, डुंगा चलाउने पेशा नै बन्द भयो, अब केही गर्न सक्दैन्, परिवार कसरी पाल्ने चिन्ताले दिनहुँ सताईरहन्छ ।’ डुंगा चलाएर गुजारा गर्दै आएका दैलातुङ्गका ६० वर्षीय रामबहादुर बोटेलाई पनि यति बेला आर्थिक समस्याले पिरोल्ने गरेको छ । कालीगण्डकी नदीको ओडारे र झ्याङटुङ्गमा दैनिक डुंगा चलाएरै ७ जनाको परिवार पाल्दै आएका बोटेलाई पुल बनेपछि आर्थिक समस्या उत्पन्न भएको हो । नदी किनार नजिकै झुपडी बनाएर बसेका उनी पहिले–पहिले डुंगा चलाएर रोजीरोटी चलाउँदै आएको भए पनि कालीगण्डकी नदीमा पुल निर्माणसँगै उनको छाक नै खोसिएको छ । बोटे भन्छन्, ‘२० वर्षको उमेरदेखि डुंगा चलाएको हुँ, पुल बनेपछि छाकै खोसियो ।’ विकास आवश्यक भए पनि विपन्न जनतामा त्यसले पार्ने असरलाई बुझेर विकल्पको बाटो सरकारले दिनुपर्ने उनको तर्क छ ।
‘जमानामा डुंगा चलाउँदा वारपार गरेको ४ रुपैयाँ लिन्थ्यौं,’ उनले भने, ‘कतिले पैसा दिँदैनथे र अरनी माग्थ्यौं । दिनभरि जम्मा गरेको अरनी घरमा ल्याएर बिहान–बेलुकाको छाक टार्नुपथ्र्यो ।’ विस्तारै सडक खुले, पुल बने । नयाँ पुस्तामा पनि डुंगा चलाउने र माछा मार्ने मोह हराएको उनी बताउँछन् । अर्का ५८ वर्षीय दलबहादुर बोटेले पनि लामो समयसम्म राम्दी घाटमा डुंगा चलाए । वर्षायामको भेल पनि नभनी जोखिम मोलेर यात्रुलाई सुरक्षित नदी वारिपारी गराउने काममा उनी निकै सिपालु मानिन्थे’ राम्दी घाटमा दिनमा दुई वटा डुंगा नियमित चल्थ्यो एकछिन पनि फुर्सद हुन्नथ्यो,’ उनले पुराना दिन सम्झिदै भने, ‘दैनिक २/३ सयसम्म यात्रुलाई नदी वारपार गराउँथ्यौं ।’ अहिले पुल बनेपछि सबै पुलबाट यात्रा गर्ने भएपछि उनको डुंगा चलाउने पेशा रोकिएको मात्र छैन् साँझ विहानको छाक टार्न समेत धौं धौ भएको छ । उनी भन्छन् ‘आफूले गर्दै आइरहेको पेशा खोसियो, बच्चाबच्ची हुर्काउन पढाउन पर्यो, काम केही छैन ।’ डुंगा चल्ने विभिन्न घाटहरूमा अहिले धमाधम पुल निर्माण भएका छन् । जसले डुंगा विस्थापित भए । जिल्लाको बगनासकाली, तानसेन,रम्भा र रामपुर हुँदै कालिगण्डकी नदी बगेको छ । यहाँका ओडारे, झ्याङटु·, माइचौर, राम्दी, आँधी, खोरिया, केलादी, पुट्टार, घुमारी, भुजात, असेर्दी र बाली घाटलगायतका दर्जनौं घाटमा जमानामा वारिपारि गर्न डुंगा चल्थे । अहिले यी घाटहरूमा झोलुंगे र पक्की पुलहरू छन् । जसका कारण डुंगा चलाएर जीविकोपार्जन गर्दै आइरहेका बोटे समुदायको डुंगा चलाउने पेशा रोकिएको छ । बगनासकालीको दैलातुङ र दर्पुकमा सीमान्तकृत बोटे समुदाय छ । यी दुवै गाउँ कालीगण्डकीको किनारमै छन् ।
दैलातुङमा बोटे समुदायका ३२ घर छन् भने दर्पुकमा ८० घर बोटे समुदाय छन् । तर अधिकासको आफ्नो घर छैन् । कालिगण्डकी नदी किनारमा डुंगा तार्ने र माछ मारेर गुजार चलाउदै आएको यो समुदाय अहिले दुवै काम ठप्प भएपछि विचल्लीमा परेका छन् । माछा मार्न समेत रोक लगाएपछि उनीहरु थप समस्यामा छन् । झुपडीमा लालबालासँगै रहेका उनीहरुका लागि न नयाँ काम पाइन्छ न त परम्परागत रुपमा गर्दै आएको काम नै छ । आफै घर बनाएर बस्ने क्षमता समेत नभएका उनीहरुले जनता आवास कार्यक्रममार्फत घरवासको जोहो गरिदिन स्थानीय सरकासँग माग गरेका छन् । बर्खायाम सुरु हुन लागेकाले आफुहरु चुहिने छानोमुनि रात कटाउन बाध्य भएको भन्दै सरकारसँग गुहार मागेका हुन् । हरेक निर्वाचनमा घर बनाईदिने आश्वासन पाए पनि आफुहरुको घर अहिलेसम्म नबनेको समुदायका अगुवा सुमित्रा बोटे बताउँछिन् । गरिबीका कारण उनीहरु घाम पानी नछेक्ने झुपडी घरमा बस्न बाध्य छन् । उनीहरू पटक–पटक मतदान गरे पनि उम्मेदवार को हो थाहै पाउँदैनन् । आफ्ना घरसम्म उम्मेदवार आउने र आफ्ना कथाव्यथा सुन्ने काम कहिल्यै नभएको उनीहरूको गुनासो छ । बोटेहरु भन्छन् ‘यहाँबाट भोट पाएर जितेर जानेले हामीलाई वास्ता गरेनन् । हाम्रो अवस्था सुधार भएन ।’
स्थानीय सरकारबाट उपेक्षित बोटे
स्थानीय सरकारले समेत बोटे समुदायलाई उपेक्षित गरेको छ । सकसमा रहेका उनीहरुको आर्थिक अवस्था सुधारका लागि स्थानीय सरकार बेखबर छ । बेला बेलामा बोटे समुदायमा बाख्रापालनका कार्यक्रम गर्ने गरिए पनि ठोस रुपमा आयआर्जन र रोजगारीसँग जोड्न नसकिएको बगसकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदी स्वीकार छिन् । उनले भनिन् ‘अहिले हामीले त्यस्तो ठोस कार्यक्रम ल्याएका छैनौ, गत वर्ष बाख्रापालनका कार्यक्रम थियो, अब हामीले केही आयआर्जनसँग जोड्ने खालका कार्यक्रम ल्याउने सोंच बनाएका छौं ।’ बोटे बस्तीसम्म मोटर बाटो, पिउने पानी व्यवस्थापन र बोटे समुदायकै लागि लक्षित गरेर दर्पुकमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइए पनि रोजगारी सिर्जनाको सवालमा ठोस कार्यक्रम बन्न नसकेको–६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले बताए । उनले भने ‘विगत ३ वर्ष अघि यहाँका समुदायमा बाख्रापालनका लागि पालिकाबाट सहयोग हुन्थ्यो तर यस पटक भने त्यो पनि छैन् ।’ अहिले केही गैरसरकारी संस्थासँगको समन्वयमा दर्पुकका बोटे समुदायमा कृषि र पशुपालनका कार्यक्रम गरिएको अध्यक्ष अधिकारीले बताए ।
आर्थिक अभावको चेपटामा बोटे बालबालिकाको शिक्षा
दैलातुङ फाँटको बोटे गाउँ नजिकै कक्षा ८ सम्म पढाइ हुने दैलातुङ आधारभूत विद्यालय छ । दर्पुकमा पनि विद्यालय छ । यी विद्यालयमा अधिकांस बोटे समुदायका बालबालिका छन् । केही वर्षअघिसम्म यहाँका बोटे अभिभावकमा छोरा÷छोरी विद्यालय पठाउनुपर्छ भन्ने चेतनासमेत थिएन । बालबालिका पनि विद्यालय जान र पढ्न रुचि देखाउँदैनथे । तर अहिले पढ्नुपर्छ भन्ने चेतना भए पनि आर्थिक अभावका कारण धेरै बालबालिकाहरु विद्यालय जान सकेका छैनन् । उनीहरुलाई विद्यालयमा टिकाइ राख्न सरकारले दैनिक खाजा भत्ताको व्यवस्थासमेत गरेको छ । तर त्यो त्यति प्रभावकारी हुन सकेको छैन । उनीहरूमा सरसफाइ, नियमित गृहकार्य, न्यानो लुगा, आवश्यक शैक्षिक सामग्रीको भने सधैँ अभाव छ । आर्थिक समस्याका कारण भोटे बालबालिकाहरुले पढाइ नियमित गर्न सकिरहेका छैनन् ।