पाल्पा, पाल्पाका विभिन्न नदी र खोलामा डुवेर दुई जनाको मृत्यु भएको छ । यहाँका कालीगण्डकी नदी र दोभान खोलामा डुबेर दुई जनाको मृत्यु भएको हो ।
चार दिन अघि कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएकी एक किशोरी मृत फेला परेकी छन् । जिल्लाको रामपुर नगरपालिका–८, भुजातस्थित कालीगण्डकी नदीमा नुुहाउने क्रममा जेठ ३२ गते बेपत्ता भएकी रामपुर –८, भुजातकी १४ वर्षीया पार्वती राम्जाली मृत फेला परेकी हुन् । नदीमा बेपत्ता भए पछि उनको प्रहरी, स्थानीय र आफन्तले खोजी गरेका थिए । खोज्ने क्रममा आइतबार विहान डुुबेको स्थानदेखि १ किलोमिटर तल नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार शवलाई पोष्टमार्टका लागि रामपुुर अस्पताल पठाइएको छ ।
यस्तै पाल्पाको दोभान खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, श्रृजनानगर बस्ने ३४ वर्षीय लोकबहादुर रजाली मगरको पौडी खेल्ने क्रममा शनिबार बेलुकी खोलामा डुबेर मृत्यु भएको हो । तिनाउ गाउँपालिका–२, खुर्साने नजिकै दोभान खोलामा साथीहरुसँग वनभोज खाना आएका रजाली मगर बेलुकी फर्किने क्रममा नभेटिएपछि खोजतलाज गर्दै जाँदा पानीमा डुबेको अवस्थामा भेटिएका थिए । तत्काल उपचारका लागि प्रादेशिक अस्पताल बुटवल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ । शनिबार नै तिनाउ खोलामा डुबेर गुल्मीका एक किशोरको मृत्युु भएको थियो । पौडी खेल्ने क्रममा अचनाक बेपत्ता भएका गुल्मी सत्यवती गाउँपालिका–७, का १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो ।