पाल्पा, तानसेनमा युवा–युवतीहरुलाई उद्यमीसँगै स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको निःशुल्क बेकरी तालिमको समापन गरिएको छ । एसियन स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट प्रालि बुटवलको आयोजना, दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको आर्थिक सहयोग, हेल्भेटास नेपालको प्राविधिक सहयोग र शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालि पाल्पाको समन्वयमा भएको तालिमको सोमबार एक औपचारिक कार्यक्रमकाबिच समापन गरिएको हो ।
९६ घण्टा चलेको तालिमको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले समापन गरेका हुन् । तालिमको समापन गर्दै प्रमुख अतिथि समेत रहेका भट्टराईले सहभागीहरुलाई प्रमाणपत्र पाउने मात्र नभई नयाँ सोंचका साथ अगाडि बढ्ने बाटो खुला भएको बताए । उनले प्रमाणपत्रको सही सदुुपयोगका लागि उद्योग सञ्चालन गर्न र स्वरोजगार बन्ने दिशामा लाग्न आग्रह गरे । अध्यक्ष भट्टराईले भने ‘तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नुहोस्, त्यसका लागि निजी क्षेत्रका उद्योगी व्यवसायी र होटल व्यवसायीहरुसँग भएको ज्ञान, अनुभव लिएर उनीहरुसँग सहकार्य गर्न सकिन्छ ।’ उनले सरकारको गलत नीतिका कारण ज्ञान, सीप भएका युवाहरु विदेश पलाएन भइरहेको भन्दै त्यसलाई रोक्न स्वदेशमै सीप सिकेर व्यवसायी बन्नुपर्नेमा जोड दिए । अध्यक्ष भट्टराईले भने ‘सरकारले जहिल्यै बजेट ल्याउँदा रेमिटान्सलाई प्राथमिकता दिने गर्छ, यसले युवाहरु सबै विदेश जाउन भन्ने नै हो, यसको विरुद्धमा उद्योग वाणिज्य संघले सधै अवाज उठाउँदै आएको छ, हामी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ भन्ने मान्यता राख्दछौं ।’ म विदेशमा होइन स्वदेशमै केही गर्छु भन्ने मान्यता राखेर अगाडि बढ्न सहभागीहरुलाई आग्रह गर्दै उनले व्यवसायी, उद्योगी र स्वरोजगार बन्ने दिशामा आवश्यक सहयोग गर्न पाल्पा उद्योगा वाणिज्य संघ तयार रहेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघका केन्द्रीय सदस्य लक्ष्मण बस्यालले उद्यमी बन्न तालिममा सहभागीहरुलाई आग्रह गरे । उनले भने ‘सक्नुहुन्छ उद्यमी बन्नुहोस्, सक्नुहुँदै स्वरोजगार बन्नुहोस्, हामी तपाईहरुलाई सहयोग गर्न तयार छौं ।’ शिव इन्ष्टिच्यूटका संयोजक कमल भट्टराईले बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले हरेक वर्ष सिटीभिटी र स्थानीय सरकारको सहयोगमा सीपमूलक तालिमहरु सञ्चालन गरिदै आइएको बताए । उनले पाल्पा उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको सहयोग र साथका कारण बेकरीको तालिम सञ्चालन गर्न सफल भएको भन्दै अभार व्यक्त गरे ।
पाल्पाका होटल तथा रेष्टुरेष्ट व्यवसायी संघका उपाध्यक्ष जयराम सापकोटाले प्रमाणपत्रको आफैमा महत्व रहेकाले त्यसको महत्व बुझेर काम गर्न आग्रह गरे । उनले तालिमबाट सिकेका कुराहरुलाई पूर्ण रूपले व्यवहारमा उतार्नुपर्ने बताउँदै उद्यमको क्षेत्रमा लागेर व्यावसायिक बन्नुपर्नेमा जोड दिए । नेपाल प्रेस युनियन पाल्पाका उपाध्यक्ष रामचन्द्र रायमाझीले सीप जीवनको महत्वपूर्ण साधन भएकाले यसको सही उपयोग गर्न तालिममा सहभागीहरुलाई आग्रह गरे । उनले भने ‘अहिलेको अवस्थामा सीप महत्वपूर्ण रहन्छ, सीप सिको व्यक्तिले मात्र जीवनमा प्रगति गर्न सक्छन्, त्यसैले सीपको उपयोग गरी उद्यमी र स्वरोजगार बन्नुहोस् ।’ कार्यक्रममा प्रशिक्षकहरु श्रीकृष्ण थापा, कुशल ठाडाले तालिम कहिल्यै पूर्ण नहुँने भन्दै तालिम निरन्तर लिन र सोही अनुसार स्वरोजगार बन्नुपर्नेमा जोड दिए । तालिममा सहभागी रमेश पाण्डे र सलिना थापा मगरले तालिममा आफुहरुले धेरै कुराहरु सिक्न र जान्न पाएको भन्दै तालिमको सहि सदुपयोग गर्ने प्रतिवद्धता जनाए ।
६० जना सहभागी तालिममा पिज्जा, बर्थडे केक, बर्गर, दुनोट लगायत भेज नन्भेज आइटमहरु बनाउन सिकाइएको थियो । उनीहरुलाई पाल्पा उद्योगा वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघका केन्द्रीय सदस्य लक्ष्मण बस्याल, पाल्पाका होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका उपाध्यक्ष जयराम सापकोटा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका सचिव मणिकान्त न्यौपाने, पत्रकार रामचन्द्र रायमाझी लगायतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । जेठ १४ गतेदेखि सञ्चालन भएको तालिम सोमबार सकिएको हो । शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालि पाल्पाका संयोजक कमल भट्टराईको अध्यक्षता, तालिम संयोजक बलबहादुर उचैको स्वागत, रामकृष्ण थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।