पाल्पा, ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेनमा विश्व योग दिवस मनाइएको छ । बुधबार विद्यालयले योग र आध्यात्मिक प्रवचन गरी दिवस मनाएको हो ।
कार्यक्रममा योग, ध्यान र आध्यात्मिकताको बारेमा जानकारी गराइएको थियो । प्रमुख अतिथि भारतबाट आएकी रोधराधे समितिकी प्रवचनकर्ता निकेन्जेश्वरी देवीले योग र आध्यात्मिकताका बारेमा प्रवचन दिएकी थिइन् । उनले शारीरिक र मानसिक रुपमा स्वस्थ रहन योग, ध्यान आवश्यक रहेको बताइन् । निकेन्जश्वरीले भनिन् ‘पछिल्लो समय मानिसको दिनचर्या अत्यन्त व्यस्त रहँदै गएको छ । यस्तो अवस्थामा मनलाई शान्त, एकाग्रह र स्वच्छ राख्न योग गर्न जरुरी छ ।’ ईश्वरले मानिसलाई सुुन्दर शरीर दिएको भन्दै उनले त्यसको सही व्यवस्थापन गर्न योग अपरिहार्य रहने बताइन् ।
परमात्माको शक्ति, एवं बरदानको प्राप्ति, जीवनमा कर्मको रहस्य, शान्ती एवं शुखको अनूभूती, सम्बन्धमा समधुरता, तनाव एवं क्रोधमुक्त जीवन, मनलाई शान्त राख्ने, जीवन व्यवस्थापन, तनावमुक्त जीवन लगायतका विषयमा निकेन्जश्वरीले आफ्ना धारणा राखेकी थिइन् । विद्यालयकी निर्देशक ब्रहमाकुमारी प्रेमा शाहाले योगको माध्यमबाट जीवनलाई सुुखी र सार्थकता बनाउने दिशामा लाग्न सबैलाई आग्रह गरिन् । कार्यक्रममा नवजनचेतना दैनिकका उपसम्पादक रामचन्द्र रायमाझी, रोधे राधे समितिका प्रतिनिधि डम्वर गैरे, तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्य, योग प्रशिक्षकहरु सुरेश श्रेष्ठ, रामकुमार क्षेत्री, विद्यालयकी ब्रहमाकुमारी संगीता नेपाल लगायतले स्वास्थ जीवनका लागि योग आवश्यक रहेको औल्याए । सोही अवसरमा योग प्रशिक्षक सुरेश श्रेष्ठले योग अभ्यास गराएका थिए । विद्यालकी निर्देशक ब्रहमाकुमारी प्रेमा शाहाको अध्यक्षता, ब्रहमाकुमार भानु प्रकाश पौडेलको सञ्चालनमा कार्यक्रम भएको थियो । विद्यालयले दैनिक रुपमा योग, ध्यान र आध्यात्मिकताका बारेमा कक्षा लिदै आएको छ ।