अहिले हाम्रो समाजमा नैतिकताको खडेरी परेको आभास हुन थालेको छ । ‘नैतिक’ भन्ना साथ ठूलो महत्वपूर्ण र ओजनले ओतप्रोत शब्दबाट निस्कने अर्थपूर्ण भाव तौर तरिकालाई बुझाउँछ । समय–समयमा हुने विभिन्न खालका काम र कार्यवाहीहरुका विषयमा जानकारहरु व्याख्या गर्दछन् कि, नैतिक शिक्षाको अभावले गर्दा मुलुकका राजनैतिक दल, सामाजिक संघ–संस्था लगायतका धेरैजसोमा नीति र विधिले कार्यसम्पादन नभएका कारण नैतिकताको अनिकाल परेको छ । देशको अब्बल खेलाडी, अब्बल राजनीतिज्ञ, महत्वपूर्ण पदमा भएको कर्मचारी, पेशागत निकायका महत्वपूर्ण व्यक्ति र जिम्मेवार निकायमा नैतिकताको खडेरीका कारण हरेक समयमा हरेक घटना र परिघटना हुने गरेका छन् । नेता अनैतिक हुन्छन् त्यसलाई तत्काल कार्यवाही गर्नुपर्छ भन्छ नीतिले तर त्यो कार्यान्वयन हुन सक्दैन ।
मुलुक बनाउने आशा गरेको जनताको अभिभावक सरकारले नीतिका कुरा गर्छ, तर सरकारका हरेक कार्यक्रमहरुमा नीति र विधि कसले कति धेरै मिच्ने भन्ने होडवाजी चलिरहेको हुन्छ । यस्ता तमाम समस्याहरुको पहिचान गरेर नैतिकताको वातावरणलाई मलजल गर्ने हो भने मुलुकमा आमनागरिक सबैका लागि राम्रो हुने वातावरण बन्दै जाने अवस्था रहन्छ । यसका लागि शिक्षा क्षेत्रमै बालनैतिक पाठका माध्यमबाट नैतिक शिक्षा दिनु अपरिहार्य छ । नैतिक शिक्षाको खडेरीका कारण पनि नैतिकतावान समुदायको कमी भयो कि भन्ने चिन्ता र चासो पनि त्यतिकै बढेको अवस्था हो । अब हामी र हाम्रो समाजलाई नैतिकवान बनाएर अगाडि बढ्नका लागि सबै वर्ग, क्षेत्र र समाजका नागरिकतहमा नैतिक शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्नुको विकल्प छैन । अनि मात्र नैतिकताको खडेरीको अन्त्य हुनेछ, हाम्रो समाज सभ्य र नैतिकवान बन्ने छ ।