Shittalpati
मन, बचन, कर्म र शरीरलाई स्वस्थ्य राख्न दैनिक योग अभ्यास

पाल्पा, हरेक पालिकामा १५ शैयाका अस्पताल, हरेक वडामा स्वास्थ्य चौकी, टोल–टोलमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माण भइरहेका छन् । यति हुँदाहुँदै पनि हरेक स्वास्थ्य संस्थामा उपचारको लागि दिनहुँ मानिसको भिडभाड देखिन्छ । स्वास्थ्य स्थिति दिनहुँ भयावह बन्दै जाँदा मन, बचन, कर्म र शरीरलाई स्वस्थ्य राख्र्ने योग शिक्षा, योग अभ्यास प्रति भने सरकारको ध्यान पुग्न सकेको छैन । 

अहिले  गाउँ शहर जताततै सर्ने भन्दा नसर्ने रोगहरुको अवस्था भयावह बन्दै गएको छ । ४० वर्ष नपुग्दै मानिसहरुमा सुगर, ब्लडप्रेसर, कोलेस्टोर, क्यान्सर, थाईराइड, मुटु रोग, ढाड कम्मर जस्ता रोगले जीवनलाई नै अल्पायु बनाउँदै लगेको छ । सरकारले रोग लागेपछि उपचार गर्ने ठूला–ठूला अस्पताल बनाएको छ, हजारौ डाक्टर नर्स उत्पादन गरेको छ तर मन, मस्तिष्क र शरीरलाई सधैँ स्वस्थ राख्ने योग शिक्षालाई भने नीति, कार्यक्रम र बजेटमा प्राथमिकतामा दिन सकेको छैन । सरकारको प्राथमिकतामा नपरेपनि केही सामाजिक अभियान्ता तथा विभिन्न संघ संस्थाहरुले भने नेपालमा नियमित योग अभ्यास र जनचेतना फैलाउँदै आएका छन् । मन, बचन र कर्मलाई स्वस्थ राख्ने, शरीरलाई निरोगी बनाउने एक मात्र औषधी भनेको नियमित योग अभ्यास भएकोले सिक्ने र सिकाउने अभियानामा जुटेको पतञ्जली योग समिति पाल्पाका अध्यक्ष शुरेसप्रसाद श्रेष्ठले बताए ।

योग अभ्यासबाटै हजारौं व्यक्तिहरुले पुनर्जिवन पाएका छन्, लागेको रोगहरु पूर्णरुपमा औषधी सेवन बिनै निको भएका छन् । रोग लाग्ने अन्तिम चरणमा पुगेका व्यक्तिहरु निरोगी भएका छन् । नियमित योग अभ्यासकर्ताहरुको जीवन सर्बश्रेष्ठ बनेको छ । विभिन्न किसिमका रोगबाट ग्रसित भएको शरीर अहिले स्वस्थ्य भएको, आफु स्वस्थ्य भएपछि अरु व्यक्तिहरुलाई पनि स्वस्थ्य बनाउने अभियानमा लागेको योग शिक्षक बैजनाथ यादवले बताए । केन्द्र र प्रदेश सरकारको बजेट सार्वजनिक भएपनि स्थानीय सरकारहरु अहिले बजेट निर्माणमा व्यस्त छन् । योग शिक्षालाई हरेक शहर बस्तीको टोल टोलमा पुर्‍याउन पाल्पा जिल्ला योग समितिले नियमित क्रियाकलाप गर्दै आएको छ । योग अभियानलाई नगरका सबै टोल–टोलमा पुर्‍याउन तानसेन नगरपालिकाले नियमित रुपमा कार्यक्रम बजेट विनियोजन गर्दै आएको जनाएको छ ।

आगामी वर्षमा योग शिक्षा र अभ्यासलाई अझ विस्तारित गर्न नगरपालिकाबाट आवश्यक बजेट विनियोजन गरिने तानसेन नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत भरतप्रसाद आचार्यले बताए । नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पाल्पामा विभिन्न संघ–संस्थाले योगको चर्चा गरी मनाएका छन् । औपचारिक कार्यक्रम भन्दा पनि व्यवहारिक रुपमा योग शिक्षा र अभ्यासको लागि नीतिगत रुपमै स्थानीय सरकारबाट सम्वोधन गरिनुपर्ने सर्वसाधारणको माग रहेको छ । पालिकाहरुले रोग लागेर उपचार गर्ने अस्पताल निर्माणसंगै, रोग नै लाग्न नदिने योग शिक्षा विस्तारको लागि प्रयाप्त बजेट निर्माण गरेमा स्वस्थ व्यक्ति, स्वस्थ्य समाज र स्वस्थ्य देश निर्माण हुनेछ ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पाल्पामा विभिन्न कार्यक्रमहरु भएका छन् । सदरमुकाम तानसेन रामपुर, दमकडा, पालुङमैनादी लगायतका स्थानमा योग दिवस गरेर जनचेतना फैलाउने काममा जुटेको पतञ्जली योग समिति पाल्पाकी महिला अध्यक्ष उषा श्रेष्ठले बताइन् । पतञ्जली योग समिति पाल्पाले नियमित तथा निःशुल्क रुपमा तानसेनको बालमन्दिर, गणेश मन्दिर, दमकडा, रामपुर, पालुङमैनादी क्षेत्रमा नियमित रुपमा योग अभ्यास गराउँदै आएको छ । ओम शान्ति, ब्रहमकुमारी ईश्वरी विद्यालय, राधा माधव समिति लगायतका संघ संथाले पनि अन्तर्राष्ट्रिय योग दिवस मनाएका छन् । 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update