Shittalpati

सुकदेव

लुम्बिनी प्रदेशमा पर्ने पाल्पाको सदरमुकाम तानसेन एक ऐतिहासिक शहर हो । प्रेमको प्रतिक रानीमहल, रामपुर र माडी फाँट यहाँका सुन्दर स्थान हुन् । यहाँको खानपान र रैथाने परिकारले समेत पाल्पालाई बेग्लै पहिचान दिन्छ । नेपालमा ७ वटा नगरपालिका घोषणा हुँदा वि.स. २००७ सालमा घोषणा भएको यो तेस्रो नगरपालिका हो । तानसेन पहाडकी रानीको नामबाट समेत परिचित छ । शितल, शान्त वातवरणीय ऐतिहासिक सांस्कृतिक पुरातात्विक सभ्यताको धरोहरको रुपमा तानसेनलाई चिनिन्छ । यहाँ थुप्रै ऐतिहासिक सम्पदा र पर्यटकीयस्थलहरु रहेकाले पनि तानसेनलाई सुन्दर पर्यटकीय नगरिका नामले समेत सबैले चिन्ने गर्दछन् । तानसेन धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रले परिचित छ तर खानेपानी अभावका कारण तानसेन जुन रुपमा विकास हुनुपर्ने हो, त्यसो हुुन सकिरहेको छैन । यो अत्यन्त दुःखको कुरा हो । मानिसको आधारभूत आवश्यकता मध्य खानेपानी एक हो । तर त्यही खानेपानीको चरम अभाव तानसेनवासीले भोग्नुु परेको छ । यसर्थ तानसेन खानेपानीको अवस्था र समाधानमा भएका पहलका विषयमा केन्द्रीत रहेर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

 विगत लामो समयदेखि तानसेनवासीले भोग्दै आएको समस्या मध्ये खानेपानी प्रमुख हो । यहाँ जहिल्यै पानीको हाहाकार हुने गर्दछ । हिउँदको समयमा यहाँ दुई हप्तासम्म पनि खानेपानी नपाउने अवस्था छ ।  यहाँ कहिले ९ दिन, कहिले ७ दिनमा  खानेपानीको धारा आउनाले तानसेनवासीको जनजीवन निकै  कष्टकर बन्ने गरेको छ । यहाँ तत्कालिन समयमा बाँझाको पानी विन लिफ्टिङ गरेर प्रताप शमसेरले तानसेनवासीलाई पानी खुवाएका थिए । पछि जापानीजको सहयोगमा भुल्केको लिफ्टि· पानी, पाल्पा उद्योग वाणिज्य संघको सहयोगमा सिस्ने मुलको पानी तानसेनमा ल्याइएको थियो । तानसेनको खानेपानी व्यवस्थापनका लागि जिल्लाको सर्वदलीय बैंठकमार्फत उपभोक्ता समिति गठन गरी जिम्मा लगाइएको थियो । भागबण्डाको आधारमा तानसेन खानेपानी उपभोक्ता समितिको नेतृत्व काँग्रेसबाट स्व.चाकोरमान शाक्यलाई दिइएको थियो । समितिको उपाध्यक्षमा एमालेका नेता डा. पुरन बज्राचार्य, सचिवमा नेकपा माओवादीका केशव पौडेल, राप्रपाका कोषाध्यक्ष भिमसेन कार्की, सदस्यमा जनमोर्चा, अखण्ड पार्टी र अन्य पार्टी रहने गरी पदहरु बाडफाँड गरियो ।

तानसेनमा जनघनत्व बढ्दै गएपछि पानीको अभाव समेत सिर्जना हुन थाल्यो । बाँझा, भुुल्के र सिस्ने मुलको पानीले मात्र नपुुग्ने भएपछि यहाँ अन्य स्रोतबाट पानी ल्याउन विकल्पहरु खोज्न थालियो । खानेपानी कार्यालयले श्रीनगर डाँडाबाट पानी निकाल्ने प्रयास पनि गर्‍यो तर सफल भएन । समितिका व्यक्तिहरुले कालीगण्डकीको पानी  तानसेन ल्याउन सके पानी छ्यालव्याल्ती हुने आंकलन गरे । रानीघाटमा गएर नुहाउनु पर्दैन । घरको धारामै पानी आउँछ । हरहर गंगे भनि नुहाए पनि हुन्छ भनि आश्वासन दिँदै गए ।  कालीगण्डकीबाट लिफ्टिङ गरेर ल्याउने गरी योजना पनि अगाडि बढाइयो । काम पनि भयो । तर अहिलेसम्म पानी तानसेनमा आउन सकेन् ।

आज विचार तानसेनवासी पानीको प्यासले छट्पटाइरहेका छन् । ढुङ्गेधाराहरुमा जहिले गए पनि, रातीको समयमा पनि भिडभाड भएको छ । खाली पदमा मात्र बसेर यसको व्यवस्थापन गरेझैं गर्ने तर केही पनि नगर्ने अवस्था छ । पानीको कारणले दिनहुँ जसो मान्छेहरु विस्थापित भएर तराइतिर झर्नु परेको छ । हामीलाई लाग्थ्यो धरानका मेयर ज्यूले ४२ किलो मिटर ९२ दिन लगाएर पानी ल्याएर धरानेवासीलाई खुवाए तर तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठज्यू के गरिराखेका छन् ? एउटा मेयरले यसरी पानी ख्वाएर धर्मको काम गरे, तर तानसेनका मेयरको यसतर्फ कुनै चासो छैन । पानी सम्पूर्ण प्राणीहरुलाई अति आवश्यक पर्छ हो तर तानसेनका मयेरले  किन गर्न सक्नु भएन ? मयेर नगरका अभिभावक हुन् तर जनता पानी नपाएर छट्पटाई रहँदा पानी खुवाउनेतर्फ पहल गर्न सकिरहेका छैनन् । मखनटोलदेखि शित्तलपाटीका व्यवसायीहरुले सटरमा व्यवसाय गर्दै वर्षौदेखि आफ्नो जीवन यापन चलाउँदै आइरहेकाहरुको रोजीरोटी खोसियो । व्यापारीहरुको पसल ३५ दिनको सूचना टाँस गरी ३६ दिनको दिन ३ घण्टामा ५७ सटर डोजरले भत्काइयो । त्यो दुकानको टहरा भन्दा हामीलाई तानसेनवासीहरुलाई पानीको आवश्यकता थियो । के हेरर बसेको छ  नगर सरकार ? के गर्दै छन् राजनीतिक दल ? तपाईहरुका कारणले  तानसेनवासी रोइरहेका छन् । कस्ले सुनिदिने ? तानसेनमा ११ दिनसम्म पानी नआउँदा नागरिक अगुवा सुवर्ण मुनी शाक्यको नेतृत्वमा तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमा तानसेनवासी डेलिगेशन गएका थियौं । तानसेनवासीको एउटै आवाज थियो ‘खानेपानी देऊ’ । डेलिगेशनमा गएका टोलीले समितिका  कार्यवाहक अध्यक्ष डा. पुरन बज्राचार्यलाई भेटेर पानी दिन आग्रह गरे । तर अध्यक्षले भने  गैरजिम्मेवार जवाफ दिर्दै करेन्टको भोल्टेज नभएकाले पानी आउन नसकेको जवाफ दिए । अध्यक्षले  अहिले २ सय ६० भोल्टेज छ । हामीलाई पानी तान्न ३ सय ८० भोल्टेज चाहिन्छ भन्ने जवाफ दिएपछि तानसेनवासीले  किन यस्तो भयो भनि प्रश्न गरेका थियौं। हामीले सोध्यौं विद्युतको कारणले हो तपाईहरुले विद्युतलाई नै सोध्नुस् । हामी मध्ये एक जना दाईले तुरुन्त उहाँकै अगाडि मोबाइलबाट फोन गर्नु भयो । विद्युतका हाकिमलाई सबैले सुन्ने गरी प्रश्न गर्नु भयो ।

आज तानसेनमा पानीको हाहाकार छ । अध्यक्षज्यूले तपाईहरुको कारणले तानसेनमा पानी नआएको भन्ने छ नि ? हाकिम साबको जवाफ आयो होइन खानेपानीले खानेपानीको लाइन यहाँबाट दिएको छैन् । यो त बुटवलबाट सिधँै बतासेडाँडा गएको छ । त्यहीबाट लाइन वितरण भएको छ भन्ने जवाफ आयो । के गर्ने हामीले भन्दा बुटवलमा कुरा गर्नुस् भनेर जवाफ आउँछ । फेरि सबैले अध्यक्षज्यूलार्ई गाली गलौज गर्छन् । यस्तो कुरामा पनि नसोची अरुलाई लाञ्छना लगाउने भनि हामी विद्युत कार्यालयतिर लाग्यौं । प्रमुखसँग सुवर्ण दाइले भुल्केको करेन्ट सम्बन्धी के कसो भएको छ हामीसँग टेक्निसियन लिएर जानुपर्‍यो भनेर अनुरोध गरेको २० मिनेटपछि विद्युत कार्यालयका प्रमुख, प्राविधिक साथी लिएर सबै भुल्केको २ र ३ नं. पानी जम्मा गर्ने ठाउँमा गयौं । एकजना खाने पानी कर्मचारीलाई पनि लिएर गइयो । त्यहाँ जाँदा जापनिजले दिएको पानी तान्ने मेसिन त्यतिकै अलपत्र रहेको थियो । विद्युतका प्रमुख ट्रान्सफर्म हेर्न जानुभयो र ट्रान्सफर्मको भोल्टेज पनि बढाउन मिल्छ भन्ने हामीलाई जानकारी गराउनु भयो । खानेपानीको सम्पत्ति छुन हुन्न केही कर्मचारीलाई सोध्यौ र हाकिमसाबले प्राविधिकलाई भोल्टेज बढाउँदा २ सय ६० बाट ४ सय १२ भोल्टेज भएको थियो । त्यहाँ बस्ने कर्मचारीले म ९ वर्ष भयो जागिर खाएको यसरी गर्न मिल्छ भन्ने मलाई थाहा थिएन । संयोग हामी जानु भन्दा १ घण्टा अगाडि पानी तान्ने मेसिन बिग्रिएको  थियो । यस्तो सानो तिनो काम पनि गर्न नसक्ने कस्तो समिति हो । तानसेनमा पानीको कारणले विस्थापित भएको जनगुनासो थाहा पाएन ? पानी हाहाकार भएको देख्नु भएन ? आदारणीय तानसेन नगर पिता जनता आक्रोस छन् । जे पनि हुन सक्छ । आज तराईमा ४५/४६ डिग्री तापक्रम रहेको छ ।  तानसेनमा २६÷२७ डिग्री भएकाले छिमेकी बुटवल भैरहवा, लुम्बिनी, भारत लगायतका जनताहरु गर्मी छल्न तानसेनमा केही दिन बस्न आएका छन् । होटलहरुले पानी ट्याक्टरमा किनेर पाहुनाहरुको स्वागत गरिरहेका छन् । मेयर साव किन मौन ? हर्क साम्पाङ झै बन्नुस् तानसेन जनतालाई पानी खुुवाउने पहिलो काम तपाईको हो । यस पर्यटन नगरीको अझ विकास गरौं किन चुप लागेर बसेको ? हामी तानसेनवासी साथमा साथ मिलाएर सहयोग गर्न तयार छौं ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update