पाल्पा, जिल्लाको रामपुरमा अवैध काठ बरामद गरिएको छ । रामपुर नगरपालिका–७ मल्याङस्थित बाहुुनडाँडाबाट किसानबारीतर्फ जाँदै गरेको लु ३ त ५६१३ नम्वरको ट्याक्टरबाट प्रहरीले अवैध काठ बरामद गरेको हो ।
अवैध सालको काठ ल्याउदै गरेको भन्ने गोप्प सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले ट्याक्टर रोकी हेर्दा अवैध साल जातको काठ फेला पारेको थियो । ट्याक्टरबाट ६० दशमलव ६ क्युफिट अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार ट्याक्टरसहित चालक रामपुर–७ का २८ वर्षीय हेमन्तबहादुर हिस्की, काठ धनी सोही ठाउँका २२ वर्षीय बुद्धिबहादुर श्रेष्ठ र लोड गर्न सहयोग गर्ने सोही ठाउँका ५७ वर्षीय रामप्रसाद श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि सव डिभिजन कार्यालय रामपुरमा पठाएको छ । घटनाको विषयमा थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।