Shittalpati
महिलालाई पञ्चेबाजा बजाउन सिकाउँदै मदाने 

गुल्मी, पछिल्लो समय नेपाली समाजमा पञ्चेबाजा हराउँदै गएका छन् । पञ्चेबाजा संरक्षणमा स्थानीय सरकारले चासो नदिएका कारण पञ्चेबाजा हराउदै जान थालेका हुन् ।

बाजा बजाउने पुराना पुस्ताको निधन र नयाँ पुस्ताले चासो नदिदा अहिले पञ्चेबाजा लोप हुन थालेका छन् । भएका युवाहरु समेत विदेश पलायन भएपछि अहिले पञ्चेबाजा बजाउने कार्य हराउँदै जान थालेका बेला गुल्मीको एक स्थानीय तहले भने महिलाहरुलाई बाजा बजाउने तालिम दिएको छ । यहाँको मदाने गाउँपालिकामा पञ्चेबाजा बजाउने सीप हस्तान्तरणसँगै संरक्षण गर्ने उद्देश्यले महिलालाई तालिम दिइएको हो । पालिका र वडा ६ पुर्कोट दहको आयोजनामा मदाने आत्मनिर्भर महिला विकास समितिले महिलालाई तालिम प्रदान गरेको छ । महिलालाई आत्मनिर्भर बनाई स्वरोजगार बनाउने तथा परम्परागत रूपमा रहेको लोकसंस्कृति बचाई राख्ने उद्देश्यका साथ तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताए । उनले तालिम नयाँ भएको भन्दै यसबाट सिकेका ज्ञान, सीप अरूलाई पनि सिकाउन सहभागीलाई आग्रह गरे ।

गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काले गुल्मीमै पहिलो नयाँ खालको तालिम सञ्चालन भएकाले आगामी दिनमा अझै फरक किसिमका तालिमहरु सञ्चालन गर्नुपर्ने बताइन् । पुरुष मात्र होइन, महिला पनि अवसर पाए हरेक काममा सक्षम हुन्छन् भन्ने उदाहरण दिनका लागि महिलालाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सालिकराम पन्थीले बताए । दश दिनसम्म चलेको उक्त तालिम एघार जना महिलाको सहभागिता रहेको थियो । पञ्चेबाजा बजाउने तालिम राम्रो र प्रभावकारी भएकाले सहभागीहरूको निकै उत्साहित भएका थिए । पालिकाले तालिममा सहभागीलाई तीन हजार सहयोग प्रदान गर्ने समेत जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update