Shittalpati
बेपत्ता भएको १२ वर्षपछि घर

पाल्पा, लमजुङ दुतपोखरी गाउँपालिका– ५ कोलीका ८५ वर्षीय बौद्ध गुरुङ्ग बेपत्ता भएको १२ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् । १२ वर्ष अघि आफ्न्त भेट्न चितवन हिडेका गुरुङ्ग बाटोबाटै वेपत्ता भएका थिए । बेपत्ता उनी अहिले परिवारको सम्पर्कमा आएका हुन् । स्पष्ट बोल्न नसक्ने र गुरुङ्ग भाषा मात्र बुुझ्ने गुरुङ्ग २०६८ सालमा कान्छो भाईको परिवारलाई भेट्न चितवन जाने क्रममा गाडीबाटै छुटेका थिए । बोल्न नसक्ने भएकै कारण उनी हराएको आफ्न्तले बताएका छन् । केही समय अघि गुरुङ्ग पाल्पाको रम्भा गाउँपालिकाको ताहुँमा फेला परेका थिए । उनलाई स्थानीय मोहन थापाले उद्दार गरी तानसेनस्थित निलसागर सेवा आश्रमको सम्पर्कमा ल्याइदिइका थिए ।

गत वैशाख १६ गते आश्रमको सम्पर्कमा आएका गुरुङ्ग २० दिनपछि पुनः हराएका थिए । पाल्पाको ख्याहामा हिड्डुल गरिरहेको अवस्थामा स्थानीयले सामाजिक सञ्जालमा राखिदिएपछि उनी फेला परेका थिए । उनलाई पुनः आश्रममा ल्याइएको थियो । हराएका उनी फेला परेपछि आश्रमले पहिले ल्याएका मोहन थापालाई जानकारी गराएको थियो । गुरुङ्ग भेटिएको जानकारी पाएपछि थापाले गुरुङ्गलाई आफैले लैजाने भन्दै आश्रमबाट निकालेको आश्रमका संयोजक प्रकाश गंगोलले बताए । उनका अनुसार गुरुङ्गलाई थापाको जिम्मा लगाएर पठाए पनि केही समयपछि बगनासकाली गाउँपालिका–२ पोखराथोकमा फेला परेका थिए । उनलाई वडा अध्यक्ष तिर्थप्रसाद भट्टराईको सिफारिसमा आर्यभञ्याङ्ग प्रहरीले पुन:आश्रमको जिम्मा लगाएको थियो । १५/२० दिनदेखि पोखराथोकको धरम्पानी चोकमा मागेर खाने, प्रतिक्षालयमा सुत्ने गरेको अवस्थामा उनलाई फेला पारी वडाले असार ४ गते आश्रममा पठाएको हो । वडा अध्यक्ष भट्टराईले फेला परेका गुरुङ्गलाई आश्रममा जिम्मा लगाईदिएको कुरा सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।

सामाजिक सञ्जालमा देखेपछि गुरुङ्गका आफ्न्तले आश्रममा सम्पर्क गरे । गुरुङ्गकी नातिनी सर्मिला गुरुङ्गले सामाजिक सञ्जालमा हजुर बुुवाको तस्वीर देखेपछि आश्रममा सम्पर्क गरेकी थिइन् । आश्रममा रहेका गुरुङ्गलाई बिहीबार आफ्न्तको जिम्मा लगाइएको आश्रमका संयोजक गंगोलले बताए । उनका अनुसार गुरुङ्गलाई उनको नातिनी सर्मिला गुरुङ्गसहित गुरुङ्ग समाज रुपन्देहीका अध्यक्ष शेरबहादुर गुरुङ्गको जिम्मा लगाइएको हो । 

  बेपत्ता व्यक्ति सम्पर्कमा आउँदा घर परिवार र गाउँमा खुसी छाएको नातिनी सर्मिला गुरुङ्गले बताईन् । उनका अनुसार हराएको लामो समय हुँदा समेत नभेटिएपछि परिवारले उनको मृत्यु भएको हुन सक्ने भन्दै काजक्रिया समेत गरेको थियो । आफूहरूले एक्कासी हजुरबुवा जिवितै सम्पर्कमा आएको कुरा सुन्दा सपना जस्तो लागेको नातिनी गुरुङ्ग बताउँछिन् । ‘बुबा जीवितै हुनुहोला भन्ने हामीले आशा नै गरेका थिएनौं । जीवितै हुनुहुँदो रहेछ । हामी निकै खुसी छौं’ उनले भनिन् । गुरुङ्ग अविवाहित रहेको र दाजुुभाइसँगै बस्दै आएको आफ्न्त शेरबहादुर गुरुङ्गले बताए । उनले भने ‘बुवालाई बिहीबार बुटलमै राखेर शुक्रबार उनका कान्छो भाईका माइला छोराको जिम्मा लगाई घर पठाइएका छौं ।’

प्रकाशित मिति: शनिबार, असार ९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update