पाल्पा, जिल्लाको माथागढी गाउँपालिका –४ देवगीरमा युवाहरुलाई क्षमता विकास तालिम दिइएको छ । गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ३ दिनसम्म युवाहरुलाई तालिम दिइएको हो ।
तालिम समापनमा प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले युवाहरुको क्षमता विकासको लागि तालिम महत्वपूर्ण हुने बताए । उनले युवाहरुमा अन्र्तनिहित क्षमता हुँदा हुँदै कलाको विकास नहुँदा धेरै युवाहरु पछि परेको भन्दै यस्ता तालिमले क्षमताको विकासमा टेवा पुुग्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष चिदीले पालिका भित्रका सबै वडामा युवा लक्षित तथा क्षमता विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिदै आइएको र आगामी दिनमा पनि सञ्चालन गरिने बताए ।
वडाका युवाहरुको क्षमता विकास गराउने उद्देश्यले सञ्चालन गरिएको तिन दिने तालिमले युवाहरुको नेतृत्व क्षमता विकास गर्नेमा वडा अध्यक्ष शंकर दर्लामीले विश्वास व्यक्त गरे । उनले तालिममा सिकेको कुराहरुलाई व्यवहारमा उतार्न समेत तालिममा सहभागीहरुलाई आग्रह गरे ।
तालिमको युवा तथा खेलकुद समन्वय समितिको सहकार्यमा पत्रकार दिपक भट्टराई र सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यक्रम संयोजक शिव शंकर न्यौपानेले सहजिकरण गरेका थिए । तालिम अवधिभर सिकेका कुरा तथा तालिमका बारेमा सहभागीका तर्फबाट अर्जुन रतन र लक्ष्मी सारुले तालिम एकदमै राम्रो तथा प्रभावकारी भएको बताउदै तालिम बाट धेरै कुरा सिक्ने अवसर पाएको धारणा राखेका थिए । पालिकाले आगामी दिनमा यस्ता तालिमलाई निरन्तता दिएमा थप सिक्ने मौक्का मिल्नेमा आशावादी रहेको उनीहरुले बताए । तालिममा वडा भित्रका ३५ जनाको सहभागी रहेको थियो । वडा अध्यक्ष शंकर दर्लामीको अध्यक्षता, प्रिति बिकको सञ्चालनमा समापन कार्यक्रम भएको थियो ।