Shittalpati
तानसेनको नीति तथा कार्यक्रम : ‘पर्यटन र संस्कृति संरक्षणमा केन्द्रित’

पाल्पा, जिल्लाको तानसेन नगर सरकारले शनिबार नीति तथा कार्यक्रम ल्याएको छ । उसले नगर सभाको १३ औं अधिवेशनमार्फत आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको हो ।  नगर उपप्रमुख प्रतिक्षा सिंजालीले १८२ बुँदे नीति तथा कार्यक्रम सभामा पेश गरेकी हुन् । ‘

सुव्यवस्थित पूर्वाधार, पहिचानमूलक उत्पादन र हरित वातावरणयुक्त पर्यटकीय, समावेशी, सांस्कृतिक नगर’ को नारा सहित विकास र समृद्धिको परिकल्पनालाई साकार पार्ने गरी नीति तथा कार्यक्रम ल्याइएको उपप्रमुख सिंजालीले बताइन् । उनले पेश गरेको नीति तथा कार्यक्रमले संविधान र संघीयताको प्रभावकारी कार्यान्वयनलाई जोड दिएको छ भने पर्यटनको विकास, संस्कृति सरक्षणसँगै उत्पादकत्व वृद्धि गरी रोजगारी बढाउने लक्ष्यलाई प्राथमिकतामा राखेको छ । 

तानसेनभित्र पर्यटक लक्षित पूर्वाधारहरूको विकास गरी पर्यटकीय गन्तव्य बनाउने उल्लेख छ । तानसेनलाई हिल स्टेशन तथा सांस्कृतिक नगरको रुपमा विकास गर्ने, नगरभित्रका प्राचिन शैलिबाट बनेका घर, पार्टीपौवाको संरक्षण गरिने, ऐतिहासिक पाल्पा दरबार पसिरमा तत्काल ढुंगा छपाइएको काम गरिनुको साथै यस क्षेत्रको सौन्दर्यकरण र विकासका लागि संघ तथा प्रदेश सरकार र पुरातत्व विभागसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । यस्तै रानीमहल पूर्वाधार विकास तथा प्रवद्र्धन कार्यक्रम र श्रीनगर उद्यान संरक्षण तथा सम्वद्र्धन कार्यक्रमको लागि स्रोत व्यवस्थापन गरिने, श्रीनगरसम्म जाने कालोपत्रे सडकको स्तरोन्नती गरिने, अर्गाली दवारसहित नगर भित्रका पुरातात्विक सम्पदाहरुको संरक्षण, व्यवस्थापन गरिने, तानसेन –१३ छेर्लुङ्गको सपलकमा रहेको ३ सय वर्ष पुरानो ऐतिहासिक बगैचालाई कालीगण्डकी नदीको बहावले क्षति पुर्‍याउँदै आएकोमा त्यसको संरक्षण गरिने उल्लेख गरिएको छ ।

यस्तै श्रीनगर–रानीमहल केवलकार निर्माण, कुहिरेभीर रक क्लाइम्बि· योजना निर्माण गर्न निजी क्षेत्रलाई आकर्षित गर्ने नीतिगत व्यवस्था गरिने छ । अमरणनारायण फूलबारी, बंशगोपाल पार्क, बौघापोखराथोकको जर्नेटा टुँडिखेल, कुहिरे भीर, सिद्धगुफा, चेचीकोट, रुरु क्षेत्र लगायतका क्षेत्रको वृहत्त योजना तयारी गरी सोही बमोजिम पर्यटकीय क्षेत्रहरुको विकास गरिने, माडीफाँटको ढाव क्षेत्रलाई माण्डव्य सरोबरको रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरी पर्यटकीय आकर्षणको केन्द्र बनाईने, बौघागुम्हा होमस्टे, मदनपोखराको छापमा सञ्चालित होमस्टे लगायत नगर भित्र रहेका होमस्टेहरुको प्रवद्र्धन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बजार क्षेत्रको सौन्दर्यकरणमा अभिवृद्धि गर्न सडक पेटी, सडक बत्ति, सरसफाई, सडक मर्मत र पार्कि· व्यवस्थापनलाई विशेष प्राथमिकता दिइने, नगरभित्र रहेका विज्ञापन बोर्ड तथा व्यवसायिक प्रतिष्ठानका बोर्डहरुमा एकरुपता ल्याईने जनाइएको छ । 

यस्तै नगर सरकारले नगरको ऐतिहासिक संस्कृति र परम्पराको प्रवद्र्धन गर्न तानसेनमा सञ्चालन गरिने जात्रा तथा पर्वहरुहरुलाई विशेष ध्यान दिने बताएको छ । नगर सरककारले भगवती रथ यात्रा, अमरनारायण रथयात्रा, गाईजात्रा, रोपाई जात्रा, बाघ जात्रा, चुुईकी फिराई, लगायतका जात्राहरुलाई निरन्तरता दिन समन्वय र सहकार्य गर्ने उल्लेख गरेको छ ।

यस्तै माघे संक्रान्ति, ऋषिकेशव हरिबोधनी एकादशी रथयात्रा, कृष्णजन्मास्ष्टमी, प्रभासको शिवरात्री मेला, योमरी पुन्ही, माण्डव्य रथ यात्रा, कंलकी देवी अष्टमी मेला, मगर दिवस, बुद्ध जयन्ती, नयाँ वर्ष समेतलाई मेलाकै रुपमा मनाउने पद्धतिलाई निरन्तरता दिइने छ । नगर भित्रका मठमन्दिर मदरसा, गुम्वा, विहार, चैत्य, चर्च, मस्जिद, संरक्षणको लागि आवश्यक व्यवस्था मिलाइने, लुम्बिनी प्रदेश सरकारसँग समन्वय गरी श्रीनगर सांस्कृति डवली नगरपालिकामार्फत सञ्चालनमा ल्याइने, पर्यटकहरुको बसाई बढाउन तथा पाल्पाली कलासंस्कृति उजागर गर्न रात्रीकालीन कार्यक्रमको थालनी गरिने समेत उल्लेख गरिएको छ । उप्रमुख सिंजालीले पेस गरेको नीति तथा कार्यक्रममा सुशासन तथा संस्थागत विकास, आर्थिक विकास, सामाजिक विकास, पूर्वधार विकास लगायतका विषयहरु समेटिएको छ । जुन बहुमतले पारित भएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रम माथि नगर सभा सदस्य गीता भट्टराई, माधव बस्याल, अमर राना, गोमा गैरे, रेखा विष्ट, हरिबहादुर थापा, विमला बौडेल, कमल दर्लामी, राधिका थापा, कर्णबहादुर रेस्मी, लगायतले जिज्ञासा राखेका थिए । सभामुखको भूमिकामा रहेका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले नगर सभा सदस्यहरुमा प्रश्न गर्ने र सुझावहरु निर्धक्कका साथ राख्ने क्षमताको विकास भएकोमा खुसी व्यक्त गरे । उनले गत वर्ष ल्याएको नीति तथा कार्यक्रम सबैको सहयोग र साथले अधिकासं कार्यान्वयन गर्न सफल भएको बताए । नगर सभाको दोस्रो बैंठक आज दिउँसो १ बजे बस्ने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update