अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस आज विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २६ तारिखमा यो दिवस मनाउने गरिन्छ । विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु यो दिवसको उद्देश्य हो । यस वर्ष यो दिवसको नारा जीवन बचाऔँ भन्ने रहेको छ । लागू औषध दुरुपयोग र सम्बन्धित स्वास्थ्य समस्याहरू रोक्न लागू औषध र यसको प्रभावहरूको बारेमा सही जानकारी प्रदान गर्ने कुरामा दिवस केन्द्रित रहन्छ । यो दिवस हरेक वर्ष मनाउने गरिए पनि लागू पदार्थ तथा अवैध तस्करी नियन्त्रणमा चुनौती बढ्दै गएको छ । यो अत्यन्त दुखको कुुरा हो । देशका प्रमुख सहरहरु लागू पदार्थ ओसारपसार तथा विक्री वितरणको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएका छन् । भारतीय सीमा क्षेत्रबाट भित्रिएका लागूऔषध ठूला सहरमा विक्री वितरण हुने गरेको पाइएको छ ।
विश्वमा लागू पदार्थको प्रयोगबाट निस्कने परिणाम डरलाग्दो छ । यसले व्यक्ति आफै, परिवार, समाज, राजनीति, राष्ट्र र अन्तर्राष्ट्रियरुपमै खतरा पैदा गरेको छ । यो मादक पदार्थ भन्दा दशौं गुणा हानिकारक छ । लागू औषधको अवैध दुव्र्यसन र तस्करको समस्या अहिले विश्वकै लागि चुनौतीपूर्ण बनेको छ । लागू औषधको सेवन नभई दुव्र्यसन, वैध नभई अवैध उत्पादन, तस्करीले आर्जित अकूत धनराशिको गलत कार्यमा दुरुपयोग हुनाले विश्वमा जटिल समस्या उत्पन्न भएको हो । लागू औषध दुव्र्यसनीहरूले पारिवारिक वातावरण अशान्त र तनावपूर्ण बनाएका छन् । स्थानीय र अन्तर्राष्ट्रिय तस्करहरूले नेपाललाई ट्रान्जिटको रूपमा हेरोइन, अफिम, कोकिन तस्कर गर्न प्रयोग गरेको र गाजा, चरेस, तरल चरेस नेपालबाटै युरोप, अमेरिकाको बजारमा तस्करी गर्ने गरेको पाइन्छ । लागूपदार्थको अवैध ओसारपसार, कारोबार एवं आपूर्तिमा कडाइका साथ नियन्त्रण गरी यससँग सम्बन्धित अपराधमा कमी ल्याउन विभिन्न नियन्त्रणमूखी कार्यक्रम सञ्चालन गर्नु उत्तिकै आवश्यक छ । त्यति मात्र होइन लागूपदार्थको अवैध खेती एवं ओसारपसारलाई निरुत्साहित गर्न विभिन्न दबाबमूलक कार्यक्रमका साथै सोसँग सम्बन्धित सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाइनुुपर्छ । यसका लागि सुरक्षा निकायले गरेका प्रयासमा अभिभावक, सामाजिक संस्था, आम नागरिकको सकारात्मक भूमिका र सहयोग महत्वपूर्ण रहन्छ । यसर्थ लागूऔषध नियन्त्रण भएमात्र स्वच्छ र अपराधमुक्त समाज निर्माण हुनसक्ने भएकाले यस्तो कार्यमा सबै सरोकारवालाको उत्तिकै सहयोग र ऐक्यबद्धता रहनु जरूरी छ ।