वालिङ, दोस्रो पुस्ताले रुचि नदेखाउँदा पछिल्लो समय यहाँको बाजा बजाउने पेसा हराउने अवस्था देखा परेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–८ बङातीमा पुर्खौंदेखि परियार समुदायले बजाउँदै आएको नौमती बाजा पछिल्लो समय नयाँ पुस्ताले अँगाल्न नसक्दा सो पेसा हराउने अवस्था देखिन थालेको हो ।
बङातीका बाजा भनेपछि यसको छुट्टै महत्व र माग हुँदाहुँदै पनि नयाँ पुस्ताले यो पेसाप्रति रुचि नदेखाएकाले भोलिका दिनमा हराउँछ कि भन्ने चिन्ता बङ्राती कालिका बाजा समूहका अध्यक्ष दलबहादुर परियारको छ ‘लगनका बेला र शुभकार्यमा नौमती बाजाको माग हुने गरेको छ’, उनले भने, ‘अरु बेला काम पाइँदैन, लगनका बेलामा मात्रै बाजा बजाएर दैनिक चल्ने कुरै भएन ।’ बाजा बजाएर दैनिकी चलाउन गाह्रो हुने, नियमित आम्दानी नहुने, मेहनत अनुसारको पारिश्रमिक नपाइने भएकाले युवा पुस्ताले रुचि नदेखाएको उनले बताए । ‘गाउँमा युवाको संख्या त अधिक छ, यो पेसाबाट आम्दानी कम हुने भएकाले टिक्न सक्ने अवस्था भएन, गाउँका अहिले करिब ३५–४० युवा वैदेशिक रोजगारीमा छन्, यहाँका युवाले बाजा बजाउने सीप नै नजानेका होइनन्’, उनले भने, ‘सीप त जानेका छन्, तर यसबाट भएको आम्दानीले घर खर्च चलाउनै मुस्किल भएपछि टिकिराख्न सकेनन् ।’ केही वर्ष पहिले गल्याङ नगरपालिकाले नौमती बाजा सेट उपलब्ध गराएको थियो । बाजा पुराना भएकाले बजाउन समस्या हुन थालेको समूहका सदस्य लोकबहादुर परियारले बताए । बाजा समूहका लागि नयाँ बाजा र समूहको पोशाक आवश्यक रहेको उनले बताए । ‘बाजाको माग भएका स्याङ्जासहित छिमेकी जिल्लाका विभिन्न ठाउँमा बाजा बजाउन जान्छौँ’, उनले भने ‘बाजाको माग नभएका बेला घरमै सिलाइकटाइ गर्ने गरेका छौँ ।’ बिहान कमाएर साँझ खानपर्ने बाध्यता रहेकाले नयाँ बाजागाजा थप गर्नसक्ने अवस्था नरहेको लोकबहादुरले बताए । –रासस