Shittalpati
निस्दीले गर्‍यो २० वर्ष पुगी विवाह गर्नेलाई सम्मान

पाल्पा, जिल्लाको निस्दी गाउँपालिकाले २० वर्ष पुगी विवाह गर्ने महिलाई नगदसहित सम्मान गरेको छ । पालिकाले समाजमा बढिरहेको बालविवाहलाई रोक्ने उद्देश्यले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगी विवाह गर्ने महिलालाई प्रोत्साहनस्वरुप नगद सहित सम्मान गरेको हो ।

पालिकाका भित्रका २५ जना महिलालाई प्रोत्साहन स्वरूप ८ हजार नगद र सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए । बालमैत्री गाउँपालिका घोषणाका लागि अभियानमा जुटेको पालिकाले बालविवाह न्यूनिकरण गर्नुको साथै छोरीहरुलाई उच्च शिक्षाको पहुँचसम्म पुर्‍याउन उत्प्रेरित गर्ने उद्देश्यले प्रोत्साहनस्वरुप पुरस्कार प्रदान गरे अध्यक्ष सारुले बताए । उनले भने ‘२० वर्ष पुगी विवाह गर्नेलाई पुरस्कार दिदै निस्दी गाउँपालिका उमेर नपुगी हुने विवाह रोक्न गाह्रो हुन थालेपछि यस्तो नीति अवलम्वन गरिएको हो ।’ पालिकाले यस अघि नै पुरस्कारका लागि निवेदन समेत आह्वान गरेको थियो । सो निवेदनका आधारमा पुरस्कृत गरिएको प्रमुख प्रशासकीय अधिकृत धु्रव दयालले बताए । पालिकाले महिला लक्षित कार्यक्रम मार्फत पुरस्कार दिएको हो । गाउँपालिकाले यस अघि गाउँपालिका भित्रका स्नातकोत्तर उत्तीर्ण महिलाहरुलाई नगद सहित सम्मान गरेको थियो । उसले स्नाकोत्तर उर्तिण १० जना महिलालाई नगद ५ हजार सहित दोसल्ला, सम्मान पत्रले सम्मान गरेको थियो ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update