Shittalpati
समाजसेवामा प्रतिबद्ध रोटरी क्लब अफ पाल्पा तानसेन

पाल्पा, रोटरी क्लव एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । जसले सामाजिक र मानवीय उत्थानका लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक गतिविधि गर्दै आएको छ । नेपालसहित विश्वभर रोटरी क्लवहरु स्थापना भएका छन् । पाल्पामा पनि सामाजिक सेवा गर्ने अभिप्रायले सन् २००१, २७ जुनमा रोटरी क्लव अफ पाल्पा तानसेनको स्थापना भएको हो । 

क्लवले विगतदेखि नै आफुहरुलाई निस्वार्थ सेवाभावमा समर्पित गर्दै आएको छ । उसले विभिन्न संघसंस्था र असहायहरुलाई सहयोग र राहत प्रदान गर्नुको साथै विद्यार्थीहरुमा स्वास्थ्य शिविर सञ्चालनदेखि वातावरण संरक्षण, वृक्षारोपण जस्ता उल्लेखीय कार्यहरु गर्दै आएको छ । क्लवले पाल्पाको विकट क्षेत्र निस्दीका दुई वटा वडाहरुमा ५७ लाखको सिंचाई आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ । उसले तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा विभिन्न संघ संस्थाहरुको सहयोगमा १० लाखको रेन वाटर परियोजना, एम्बुलेन्स खरिदका लागि परिवार नियोजन संघ पाल्पालाई १६ लाख, बगनासकालीमा लिफ्टिङ्ग खानेपानी आयोजना, युनाईटेट मिसन अस्पातालमा मोवाइल एक्सरे मेसिन हस्तान्तरण जस्ता ठूला परियोजनाका कार्य गरेको क्लवका निर्वतमान अध्यक्ष रो. हरी रायमाझीले बताए । उनका अनुसार अहिले  मिसन अस्पतालमा फोहोर पानी व्यवस्थापनका लागि ३ करोड १८ लाखमा वयस्ट वाटर ट्रिगमेन्ट प्रोजेक्टको टेन्डरमार्फत काम अगाडि बढेको र अन्य ठूला परियोजनाहरुको समेत काम भइरहेको छ । अशसक्त विरामीहरुको लागि ह्वीलचियर, सामुदायिक विद्यालयका विद्यार्थीहरुको कान परीक्षण जस्ता कार्यहरु गरिएको समेत रायमाझीले बताए ।

मनायो स्थापना दिवस, गर्‍यो पद हस्तान्तरण
यस्तै रोटरी क्लव अफ पाल्पा तानसेनले २३ औं स्थापना दिवससँगै पदहस्तान्तरण कार्यक्रम गरेको छ । क्लवले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्थापना दिवस र पदहस्तान्तरण गरेको हो । क्लवको २०२२–२३ को नेतृत्वले २०२३–२४ को नेतृत्वलाई पद हस्तान्तरण गरेको छ । २०२२–२३ का अध्यक्ष रो.हरि रायमाझीले २०२३–२४ का अध्यक्ष यादवसिं कार्कीलाई संस्थाको माइन्युट हस्तान्तरण गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष कार्कीलाई कार्यक्रमका विशिष्ट अतिथि तथा क्लवका एसिस्टेण्ट गभर्नर (एजी) रो.सन्दीप रेग्मीले शपथ ग्रहण गराए भने अन्य पदाधिकारीहरुलाई अध्यक्ष कार्कीले गराएका थिए । शपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष कार्कीले सामाजिक सेवा गर्दै आएको क्लबको नेतृत्वको जिम्मेवारीमा पदस्थापन हुँदा हर्षित भएको बताए । पदस्थापनसँगै उनले आफूलाई थप जिम्मेवारी महशुस भएको समेत बताए । उनले सामाजिक सेवाको भावलाई समर्पित गर्दै क्लबको विधि, विधान अनुसार काम गर्ने बताए । कार्की भने ‘नेतृत्व प्राप्तिसँगै हामी थप जिम्मेवार हुनेछौं । क्लबको इतिहास, अग्रजले सिकाएको पाठ र अगाडिका योजनाहरुलाई आत्मसाथ गर्दै हामी क्लबको प्रतिष्ठासँगै सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै यस कार्यकाललाई स्वर्णिम कार्यकाल बनाउने प्रयास गर्नेछौं ।’ पद हस्तान्तरण गर्दै क्लका निवर्तमान अध्यक्ष रो.हरि रायमाझीले आफ्नो नेतृत्वमा गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।

उनले अघिल्लो नेतृत्वले सञ्चालन गरेका केही ठूला योजनाहरु सम्पन्न गर्नेदेखि विद्यार्थीहरुमा कानको शिविर सञ्चालन, असहायहरुलाई ह्वीलचियर वितरण, वृक्षारोपण, मिसन अस्पतालमा फोहोर पानी व्यवस्थापनका लागि ३ करोड १८ लाखमा वयस्ट वाटर ट्रिगमेन्ट प्रोजेक्टको टेन्डरमार्फत काम अगाडि बढाइएको बताए । उनले बाँकी  परियोजनाहरुलाई नयाँ नेतृत्वले गर्ने आशा व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि क्लवका संस्थापक अध्यक्ष रो.छत्रराज शक्यले २७ जना सदस्यहरुबाट स्थापना भएको क्लवको इतिहासका बारेमा जानकारी गराउँदै निस्वार्थ भावले समाज सेवामा समर्पित हुन नयाँ नेतृत्वलाई आग्रह गरे । क्लवलाई थप बलियो बनाउन र व्यक्तित्व विकासका लागि प्रभावकारी र रचनात्मक ढंगले काम गर्नुपर्नेमा उनले जोड दिए । विशिष्ट अतिथि एजी रो.सन्दीप रेग्मीले समाज परिवर्तनका लागि सकरात्मक सोंच र संकल्पका साथ अगाडि बढ्न नेतृत्वलाई आग्रह  गरे । उनले रोटरी अब समाजमा जानुपर्ने भन्दै समाजलाई रोटरीको बारेमा जानकारी गराउनु अहिलेको आवश्यकता रहेको औल्याए । अर्कोका एजी रो.रवी पोखरेलले डिष्ट्रिक गोल्डलाई आत्मसाथ गर्दै जिम्मेवार पूर्व काम गर्न क्लव पदाधिकारीहरुलाई आग्रह गरे । कार्यक्रममा एजी रो.महोनप्रसाद श्रेष्ठले क्लवको नयाँ नेतृत्वसँगै रिले दौड सुुरु भएकाले सोही अनुसार इमान्दार भएर काम गर्नुपर्ने बताए । क्लवका पूर्व अध्यक्ष रो.शैलेन्द्र भट्टराईले रचनात्मक र प्रचारात्मक किसिमले काम गर्न नयाँ नेतृत्वलाई आग्रह गरे । अर्को पूर्व अध्यक्ष रो.कृष्णबहादुर रावलले रोटरीको विधि, विधान र प्रणाली भित्र रहेर सामाजिक सेवामा लाग्नुपर्नेमा जोड दिए । क्लवका पूर्व अध्यक्ष रो.प्रदिप उदयले क्लव स्थापना गर्दाको स्मरण गरेका थिए । 

कार्यक्रममा समिरमान सिंहले कार्यक्रमको रिर्पोटिङ गरेका थिए । २०२३–२४ का लागि आइपीपीमा रो. हरि रायमाझी, पिईमा रो. भिमबहादुर श्रेष्ठ, सचिव रो. शशि श्रेष्ठ, कोषाध्यक्षमा रो. विनायक महर्जन, सह–कोषाध्यक्ष रो. त्रिलोचन पौड्याल, सह–सचिवमा रो.समिरमान सिंह चयन भएका छन् । यस्तै क्लवको डाइरेक्टर पव्लिक रिलेसनमा रो. मनिषरत्न गुबाजु, डाइरेक्टर चेयर क्लव रो. बसन्तलाल बज्रचार्य, डाइरेक्टर मेम्वर चिफ रो.अजयमान कर्मचार्य, डाइरेक्टर सर्भिस प्राजेक्टर रो.डा.रचेल कारक, डाइरेक्टर द रोटरी फाउन्डेसन कमिटीमा रो.गंगराम नेपाल, प्रमुख सचेतकमा रो.सुरेशमान कर्मचार्य, आम सकेण्डमा रो.अरुण ज्ञवाली, इडिटर फस्ट रो.रमेशराज बज्राचार्य र इसडटर सेकेन्डमा रो.नारायण घिमिरे चयन भएको नवनिर्वाचित अध्यक्ष कार्कीले बताए । क्लवका निवर्तमान अध्यक्ष हरि रायमाझीको अध्यक्षता, नवनिर्वाचित अध्यक्ष यादवसिं कार्कीको धन्यवाद, सचिव भिमहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update