Shittalpati
बहुउपयोगी तुलसी

तुलसीलाई हिन्दू परम्परामा विष्णु भगवानको प्रतिक मानिन्छ । हरेक घरमा तुलसी रोप्ने गरिन्छ । घरमा तुलसीको मठ राखे सुख–समृद्धि हुने धार्मिक मान्यता त छँदैछ, यसको लाभ वैज्ञानिक रूपमा समेत प्रमाणित छ । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ ।

त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । हिन्दुहरुले हरेक वर्ष आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीका दिन तुलसी रोप्ने गर्दछन् । आज पनि घर–घरमा तुलसी रोपिदै छ । तुलसी धार्मिक, सांस्कृतिकसँगै मानवी स्वास्थ्यका  लागि समेत राम्रो मानिन्छ । त्यसैले यसलाई बहुउपयोगी वनस्पतिका रुपमा लिने गरिन्छ । तुलसीले वायुमण्डलमा वहने दुषित हावालाई समेत शुद्धिकरण गर्छ । त्यसैले जो कोहिले घर आँगन, बार्दली, छतमा तुलसी रोप्नुपर्छ । घर अघिल्तिर तुलसीको मठ बनाएर पूजाआजा गर्ने परम्परा पनि छ । यसले हामीलाई तुलसीको सम्पर्कमा पुर्‍याउँछ र स्वास्थ्य लाभ मिल्छ ।

सामान्य घाँटी दुखेको निको बनाउनेदेखि रोग प्रतिरोधात्मक क्षमता बढाउनेसम्ममा तुलसी उपयोगी मानिन्छ । तुलसी आफैमा सर्वगुणी भएकाले यसको संरक्षण आवश्यक छ । अर्कोतिर, यसको साइनो स्वास्थ्यसँग जोडिएकाले सफा र सहज ठाउँमा हुनुपर्छ । घरको आँगनमा तुलसी रोप्दा त्यसको प्रयोगमा त सहज हुन्छ नै घरको वातावरण राम्रो बनाउँछ । तुलसीको एक/दुई पात नियमित रुपमा सेवन गर्दा रोगसँग लड्ने क्षमता बढ्छ । चिसोका कारण ज्वरोले सताएको बेला तुलसीको पातमा अदुवाको केही टुक्रा मिसाएर उमाल्नुपर्छ । त्यसलाई सेवन गर्दा रुघा ज्वरो ठिक हुन्छ । तुलसीसँग जोडिएका यस्ता थुप्रै उपचार विधिहरू छन् । तसर्थ तुलसी रोपेर मात्र हुँदैन त्यसको संरक्षण समेत गर्न जरुरी छ । 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update