मदन देउराली
आज आषाढ महिना शुक्ल पक्षको एघारौं दिन एकादशी तिथि । प्रत्येक बर्ष यस दिनलाई हरिशयनी एकादशी भनिन्छ । पौराणिक ग्रन्थ अनुसार आजको दिनदेखि चार महिनासम्म भगवान श्री विष्णु क्षिर सागरमा रहेको शेषनागको शैयामा योग निदामा लिन हुनु भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो । त्यस्तैगरी चार महिनापछि कार्तिक शुक्ल एकादशीका दिन भगवान श्रीहरि नाग शैयाबाट जाग्नु हुन्छ यस दिनलाई हरिबोधिनी एकादशीको रुपमा मनाउने गरिन्छ । श्रीहरिको शयनदेखि जागरणसम्मका चार महिनालाई चतुर्मास अर्थात् भगवान श्री विष्णुको चार महिना लामो निद्रा भनिन्छ । यो चार महिना बर्षा ऋतु भित्र पर्दछ । श्रीहरिको यस शयनकालको अवधिमा उहाँको आशिर्वाद प्राप्त गर्न नसकिने भएकाले यस अवधि भित्र कुनै पनि शुभकार्य नगर्नु भनिएको छ । चतुर्मास भरि भगवानको निरन्तर पूजा गर्नाले सम्पूर्ण पापहरु नष्ट भई भगवानको आशिर्वाद एवं कृपा प्राप्त हुने विश्वास गरिन्छ । भविष्य पुराण अनुसार जसले भगवान नारायणको स्मरण गर्दे चतुर्मास ब्रत गर्दछन् उसले मृत्यु पछि विष्णुलोकमा आनन्दपूर्वक निवास गर्न पाउँदछन् भनिएको छ । यस हरिशयनी एकादशीको दिन भक्तजनहरु निराहार बसी आफुले गरेका पापकर्महरुबाट मोक्ष प्राप्त गर्न भगवान श्री नारायणको पूजा आराधना गर्ने गर्दछन । यसरी यो एकादशीको दिन पूजा गर्दा आफुले चिताएको मनोकामना सबै पूरा हुन्छ भन्ने विश्वास पनि गरिन्छ ।
पौराणिक ग्रन्थहरुमा हरिशयनी एकादशी सम्बन्धमा विभिन्न कथाहरु पाइन्छन् । कुनै समयमा मानधाता नाम गरेका धर्मात्मा राजा थिए । उनी अत्यन्त दयालु, धर्मात्मा तथा आफ्ना प्रजाहरुलाई अत्यन्त माया गर्दथे । राजा आफ्ना प्रजाहरुको भलाइका लागि विभिन्न धार्मिक कार्यहरु गरिरहन्थे तथा अन्य धार्मिक कार्यहरुमा सरिक हुन्थे । उनको राज्यमा धेरै समयदेखि पानी परेको थिएन । जताततै खडेरी थियो । खडेरीले गर्दा मानिसहरु बिरामी पर्न थाले, भोकै मर्न थाले । पानीको समस्याको समाधानको लागि राजा मानधाताले विभिन्न धार्मिक अनुष्ठानहरु पनि गरे तर सफल हुन सकेनन् । धेरैसँग राजाले खडेरीको बारेमा सरसल्लाह पनि गरे तर कसैबाट पनि उनले समस्याको समाधानको बाटो पाएनन् । अन्तमा उनले अंगिरा नामक एक ऋषिलाई भेटे । अंगिरा ऋषिले आषाढ एकादशीका दिन सच्चा मनले धार्मिक अनुष्ठान सहित भगवान श्री विष्णुको पूजा आराधना गर्ने, तथा व्रत बसेमा यो समस्याको समाधान हुने बताए । यसरी ऋषिको सल्लाह अनुसार राजाले आषाढ एकादशीका दिन व्रत बसी धार्मिक अनुष्ठान पूरा गरे ।
सो व्रतको प्रभाव तथा भगवानको कृपाले लामो समयको खडेरी पछि उनको राज्यमा घनघोर बर्षा भयो । सबै प्रजाहरु पनि खुसी भए । राज्यको समृद्धि हुन थाल्यो तथा सबै सुखसँग बस्न सफल भए । त्यस दिन देखि यो आषाढ एकादशीको प्रारम्भ भएको भनिन्छ । अर्को कथा अनुसार आषाढ शुक्ल एकादशीको दिन भगवान श्री विष्णु दैत्य राजा बलीलाई वचन दिए अनुसार हर साल पाताललोकमा वामनको रुपमा जानु हुन्छ तथा ४ महिना रहनु हुन्छ भनिन्छ । वास्तवमा भगवान विष्णुको वामन अवतारको समयमा भगवानले राजा बलिसँग तीन पाइला दान मागेका थिए । जसमा पहिलो र दोश्रो पाइला पछि अन्तिम पाइला राजा बलिले आफ्नो शिर नै थापि दिएका थिए । भगवानको पाइला बली राजाको शिरमा परे पछि बलि राजा पाताललोक पुगेका थिए । बलि राजाको दानशीलता देखि भगवान प्रसन्न भई उनलाई वरदान माग्न भने । राजा बलिले भगवानलाई आफुसँग पाताललोकमा बस्न आग्रह गरे । यसरी भक्तको अनुरोधलाई भगवानले स्वीकारी प्रत्येक वर्ष चार महिनासम्म पाताललोकमा बस्न स्वीकार गरे ।
यसैलाई चतुर्मास भनिन्छ । आजको दिनलाई पबित्र दिन मानिन्छ । यस दिन भक्तजनहरु आफ्नो घर–घरमा तुलसीको विरुवा रोप्दछन् । हिन्दु धर्ममा तुलसीको विरुवालाई पवित्र विरुवा मानिन्छ । तुलसीलाई भगवान श्री विष्णुको प्रतिक मानिन्छ । स्वस्थानी व्रत कथा अनुसार दैत्यराज जालन्धरले पार्वतीलाई महादवको रुप लिई धोका दिएकोमा भगवान श्री महादेव क्रोधित भई उनलाई मार्न धेरै कोशिस गर्दा पनि जालन्धरकी पत्नी बृन्दाको पतिब्रता धर्मले गर्दा मार्न नसके पछि भगवान श्री विष्णु जालन्धरको रुप धारण गरी बृन्दाको पतिब्रता धर्म भंग गरि दिन्छन् र जालन्धरलाई भगवान श्री महादेवले सजिलैसँग मारि दिन्छन । यता बृन्दाले आफु बिष्णुबाट आफ्नो पतिब्रता धर्म नष्ट भएको र आफ्ना पति जालन्धर महादेवबाट मारिएको थाहा पाई विष्णुलाई ढुँगा, घाँस, रुख तथा झार हुनु परोस् भनि चार थरिका श्राप दिन्छिन् । पतिब्रताको श्रापको मोचन गर्न भगवान श्री विष्णु शालिग्राम, तुलसी, पिपल तथा कुश भएको कुरा स्वस्थानी व्रत कथामा उल्लेख गरिएको छ । यस अनुसार नै तुलसीलाई श्री विष्णु मानि पूजा गर्दै आएको भनिन्छ । यो विश्वास गरिन्छ कि तुलसीको हाँगामा ब्रÞमाजी, जरामा धार्मिकस्थलहरु, गंगा जरा भएर बग्दछ, देवताहरु हाँगा तथा पातमा, तथा हिन्दु धर्म शास्त्रको बेद माथिल्लो हाँगामा बसेको हुन्छ । हिन्दू दर्शनमा भगवान विष्णुको प्रतीक मानिएको तुलसीलाई निकै महत्वपूर्ण वनस्पतिका रुपमा लिइन्छ । तुलसीको बोटले धेरै अक्सिजन फाल्ने भएकाले पनि यसलाई घर आगनमा लगाइने गरेको गरिन्छ । धार्मिकरुपमा पवित्र एवं कल्याणकारीका साथै आयुर्वेदमा अनेक रोगको निदान गर्ने गुणकारी महा औषधिका रुपमा तुलसीलाई आफ्नो घर आगनमा चोखो स्थानमा आजको दिनमा रोपण गरिने गरिन्छ ।
परापूर्वकालदेखि घर आगनमा तुलसी रोप्नुको अर्को कारण यसले घरको स्थिति एवं भविष्य संकेत सूचक वनस्पतिको रुपमा तुलसीको उपयोग गरेको भनिन्छ । घरमा कसैमाथि संकट आउन थालेको छ भने सबभन्दा पहिला त्यस्को असर घर आगनमा रोपिएको तुलसीको बोटमा देखिन्छ । राम्रो सप्रिएको तुलसीको बोट विस्तारै सुक्दै जानु पछि बोट नै मर्नु भनेको घरमा कुनै अनिष्ट हुनुको संकेत मानिन्छ । यसले घरमा नकारात्मक असर रहेको बताउँछ । धर्मशास्त्र अनुसार जुन घरमा समस्या उत्पन्न हुन थालेको छ त्यस घरमा सबै भन्दा पहिला तुलसीको बोट ओइलाउन थाल्छन रे । परापूर्वकालदेखि नै हाम्रा पूर्वजहरुले तुलसीको बोटलाई भगवान विष्णुको प्रतिक मात्र नमानेर घर परिवारमा सुख शान्ति सम्बृद्धि तथा ऐश्वर्यको सूचकको रुपमा पनि तुलसीलाई प्रयोग गरेको पाइन्छ । तुलसी बाहै्र महिना पाइने वनस्पति हो । यसको डाँठ, पात, फूल सबै महत्वपूर्ण औषधि हुन् । तुलसीमा मानव शरिरको हर रोगको लागि चाहिने गुण पाइन्छ । विभिन्न रोगहरुमा तुलसीको नियमित प्रयोगले आराम हुन्छ । तुलसीको पात नियमित सेवन गर्दा धेरै रोगहरुबाट बच्न सकिन्छ । तुलसीको पातमा भिटामिन डि, भिटामिन सी, क्यालसियम, जींक, आइरन आदि पाइन्छ । हिन्दू धर्म परम्परामा मानिसको जन्म मृत्युमा पनि तुलसीको अति महत्वपूर्ण स्थान रहेको पाइन्छ । आजको दिन नेपालका धेरैजसो पवित्र नदिनाला, पोखरीहरुमा नुहाउन जाने भक्तजनहरुको भीड लाग्ने गर्दछ । पाल्पामा पनि रिडी, राम्दी आदि पवित्र नदिहरुमा नुहाई भगवान ऋषिकेश नारायणको दर्शन गर्न भक्तजनहरुको घुँइचो लाग्दछ । अस्तु !
(लेखक देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)