Shittalpati
धान दिवस : किसानका समस्या सम्बोधन गर

देशभर धान रोपेर ‘राष्ट्रिय धान दिवस’ मनाइँदै छ । नेपालमा हरेक वर्षको १५ असारलाई धान दिवसका रुपमा मनाउने गरिन्छ । सरकारको विसं २०६१ मंसिर २९ को मन्त्रीस्तरीय घोषणाले प्रत्येक वर्षको असार १५ लाई ‘धान दिवस’ मनाउने निर्णय गरेको थियो । सोही वर्षदेखि नेपालमा औपचारिक रुपमा धान दिवस मनाइँदै आइएको हो ।

हरेक वर्ष मनाइने धान दिवसले यसको सार्थकता कति पूरा गर्छ त्यो भने आंकलन गरिएको देखिदैन । दिवसमा देशभर उच्चपदस्थ अधिकारीहरूले समेत तामझामका साथ हिलोमा पस्ने र धान रोप्ने काम गर्नेछन् । कृषिप्रधान मुलुकमा धानकै नाममा एक दिन विशेष उत्सव मनाउनुको आफ्नै अर्थ छ । तर धानसँग अन्तरसम्बन्धित वर्षौंदेखिका मुद्दालाई सम्बोधन गर्ने दिशामा भने कुनै पनि कदम नचाली खालि तामझामका साथ दिवस मात्रै मनाउनुको चाहिँ कुनै अर्थ छैन । त्यसैले, परिणाम दिने कार्यमै सम्बद्ध पक्षको थप मिहिनेत आवश्यक छ । खासगरी धान उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापनका लागि मलबिउ अभाव र सिँचाइ असुविधा जस्ता कृषि कर्मका समस्याहरू सामाधान गर्नुपर्छ ।

कृषि प्रधान देश नेपाललाई कृषिमा चिनाउने उद्देश्यले धान दिवस मनाइनु आफैमा राम्रो हो, तर यसको सार्थकताको विषयमा न त बहस हुन्छ न त पुष्ट्याई नै गरिन्छ । सुझाव आउँछ अर्काे वर्षको अवस्था त्यहि नै देखिन्छ । कृषिमा आधुनिकीकरण र उत्पादन वृद्धिको भाषण कहिलै छुट्दैन । बाँझो खेतबारी राखेर बोराका बोरा चामल, दाल, गहुँ आयात गर्न पनि छुटेको छैन । कृषि प्रधान देशका नागरिक गुणस्तरीय बीउबिजन नपाउनु, बाली लगाउने समयमा मल नपाउनु, स्वदेशको कृषि पेशाले परिवारको पेट नभरिने र निर्वाह नहुने देखेर कोदालो समाउनुपर्ने हातहरु पासपोर्ट मोहमा पर्न बाध्य छन् । त्यस्तै, खेतीयोग्य जमीनमा सिँचाई व्यवस्था नहुनु, मरीमरी बाली लगायो वन्यजन्तुले क्षति पु¥याउनु, बाली थन्क्याउने बेलामा हावाहुरी, बाढी, पहिरो डुबान, रोग किरा फट्याङ्ग्रा लगायतका प्रकोपका कारण धानको उत्पादन घट्दै जानु विडम्वनाको कुरा हो । धान दिवसको बेला खेतमा टेक्दैमा दिवसले सार्थकता पाउँदैन । वास्तविक किसानले जबसम्म दिवसको महत्व बुज्दैनन् तबसम्म दिवस केवल मनोरञ्जनका लागि मात्र हुनेछ । वर्षभरी खेत नटेक्ने तर दिवसको बेला के–के नै काम गरे जसरी हिलाम्य हुने प्रथाले समग्र दिवसलाई मनोरञ्जनको माध्यम बनाएको छ । बाहिर हेर्दा धान खेती र धान दिवसको जुन रोमाञ्चकारी सकारात्मक स्वरूप देखापर्दछ, भित्रभित्र भने किसान निकै मारमा परिरहेका हुन्छन् । यस्तो अवस्थामा हर्षउल्लासका साथ दिवस मनाउनुको कुनै अर्थ छैन । जबसम्म किसानका दुःख र पीरमर्कालाई सरकारले यथासमयमा सम्बोधन गर्न सक्दैन तबसम्म धान दिवसले सार्थकता प्राप्त गर्न सक्दैन ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update