गोविन्द भट्टराई
पुष्पलाल र वीपी साझा व्यक्तित्व हुन भन्दा अन्यथा नहोला । नेपालका कम्युनिष्ट पार्टीले पुष्पलाल अनि नेपाली काँग्रेसले वीपीलाई आफ्नो कित्ताको पेवा ठान्ने प्रवृत्ति भने हटिसेकेको छैन । आज अर्थात् असार १५, पुष्पलालको जन्म दिन पनि हो । नेपाली माटोमा कम्युनिष्ट आन्दोलन शिलान्यास गर्ने नायकको रुपमा पुष्पलाललाई लिने गरिन्छ । विस १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मेका पुष्पलालले २००६ बैशाख १० गते नेकपाको स्थापना गर्नुभयो । राणातन्त्र विरोधी आन्दोलनलाई राजावादी र बुर्जुवा सुधारको भ्रमबाट मुक्त बनाएर सामन्तवाद र साम्राज्यवाद विरोधी आमूल परिवर्तनका दिशामा अघि बढाउन कम्युनिष्ट पार्टीको अनिवार्य आवश्यकता खड्किरहेको बेलामा माक्र्सवाद लेनिनवादको वैज्ञानिक दृष्टिकोणका आधारमा देश र दुनियाको परिस्थिति विश्लेषण गर्दै कम्युनिष्ट पार्टीको निर्माण गर्न पुष्पलालले गरेको योगदानप्रति नेपाली कम्युनिष्ट आन्दोलन सधैं कृतज्ञा हुनुपर्छ । पुष्पलाललाई कम्युनिष्टहरुले मात्र होइन अन्य विचार बोक्नेहरुले समेत आज सम्झने छन् । उनको योगदानलाई चिरस्थायी राख्ने अभिप्रायले उनको नाममा राष्ट्रिय पत्रकारिकता पुरस्कार समेत स्थापना गरिएका छन् । यसर्थ तिनै पुष्पलालको योगदान र राष्ट्रिय पत्रकारिता पुुरस्कारका बारे यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालप्रति उनको योगदानका कारण सबै कम्युनिष्ट घटक मात्र होइन प्रजातन्त्रवादी खेमासमेत नतमस्तक हुन्छन् । सामान्यतया पुष्पलाल भन्नेबित्तिकै सबैको मानसपटलमा ‘कम्युनिष्ट’ भन्ने चिज झल्याकझुलुक पर्न थाल्छ । पुष्पलालले २००५ सालमा कम्युनिष्ट घोषणापत्रको पहिलोचोटी नेपालीमा अनुवाद गरे । त्यसलगतै उनले कम्युनिष्ट विचारधारा अनुरुप लेखेको पहिलो लेख नेपाली भाषामा लेखिएको कम्युनिष्ट घोषणापत्र हो । पुष्पलालले कम्युनिष्ट पार्टीमा गरेको योगदान अतुलनीय छ । वास्तवमा जनवादको नारा उनैले लगाए । उनलाई मौलिकवादी चिन्तक पनि मानिन्छ । उनले गणतन्त्रको नारा लगाउँदै क्रान्तिको दिशानिर्देश गरे भने द्वन्द्ववादी दृष्टिकोणको विचार विश्लेषण गर्ने सबै कुराको श्रेय पुष्पलाललाई जान्छ । पुष्पलालको शक्ति विचार हो । उनकै विचारका कारणले कम्युनिष्ट पार्टी अहिलेसम्म जीवित छ । सामान्य नेता आन्दोलनले जन्माउँछ ¤ त्यसले आन्दोलन र विद्रोह पनि जन्माउँछ भन्ने प्रमाण पुष्पलाल हुन् ।
यो सबै नेपाल कम्युनिष्ट पार्टीको नाम र योगदान विना सम्भव थिएन । नेपालमा ने.क.पा. र कम्युनिष्ट आन्दोलनका प्रणेता र इतिहासपुरुष पुष्पलाल हुन् । उनलाई नसम्झी कम्युनिष्ट पार्टी सम्झनु अपुरो र साँघुरो रहन्छ । नेपालकै तेस्रो नगरपालिकाको पहिचान बनाएको तानसेन नगरपालिकाले नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालको योगदानलाई चिरस्थायी गराउने मुख्य उद्देश्यले उहाँको स्मृतिमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको संयोजकत्वमा समावेशी, साझा स्वरुपसहित पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष २०७५ स्थापना गरेको थियो । त्यसो त स्थानीय निर्वाचन २०७४ बाट निर्वाचित तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीकै कार्यकालमा जननायक वीपी कोईरालाको योगदानको सम्मानस्वरुप टंक पन्थको संयोजकत्वमा वीपी स्मृति प्रतिष्ठान गठन भएको तथ्य स्मरण गर्न सकिन्छ ।
यतिबेला तानसेन नगरसरकारको नेतृत्वकर्ता मेयर सन्तोषलाल श्रेष्ठले समेत ती संस्थाहरुलाई यथोचित ढंगले सहयोग गर्ने वचन दिनुले मोफसलबाट पनि राष्ट्रिय व्यक्तित्वहरुको कदर सम्भव छ भन्ने सन्देश तानसेन नगरपालिकाले प्रस्तुत गरेको पाइन्छ । पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार कोष २०७५ को दोस्रो साधारणसभा (२०७८ चैत्र) ले संस्थाको कार्य दायरा फराकिलो बनाउनका लागि नाम परिवर्तन गर्ने निर्णय गरेअनुसार हाल पुष्पलाल स्मृति प्रतिष्ठान नेपाल, पाल्पा, तानसेनको नामबाट कामलाई निरन्तरता दिईआएको छ । संस्थाको प्रथम साधारण सभा–२०७६ माघ) को निर्णय अनुसार पहिलोपटक पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ वरिष्ठ पत्रकार हिरण्यलाल श्रेष्ठलाई २०७७ असोज ६ गतेका दिन तत्कालीन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट शीतलनिवासमा आयोजित विशेष समारोहबीच प्रदान गरिएको थियो ।
पुष्पलाल स्मृति प्रतिष्ठान नेपालले वर्ष २०७८ को पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पुष्पलालका समकालीन व्यक्तित्व, वरिष्ठ पत्रकार कमल प्रसाद कोइराला (मोरङ) लाई आज (२०८० असार १५) का दिन तानसेनमा आयोजित विशेष समारोहबिच लुम्बिनी प्रदेश प्रमुख माननीय अमिक शेरचनबाट अर्पण गर्दैछ । पुष्पलाल स्मृति प्रतिष्ठान नेपालको साधारणसभाले कोषलाई स्वतन्त्र र स्वायत्त संस्थाको रूपमा विकसित गर्दै नेपाली समाजको रूपान्तरण र विकासमा पत्रकारिताका माध्यमबाट योगदान गर्ने राष्ट्रिय व्यक्तिहरुको सूची बनाई सम्मानित गर्दै जाने, पुष्पलालको योगदान समेटेर स्मारिका प्रकाशन, पुष्पलालको योगदान चिरस्थायी बनाउने लगायतका सम्भव रचनात्मक कार्यक्रम आयोजना गर्ने नीति अघि सारेको छ । यद्यपि स्थापनाको लगत्तै सुरु कोरोनाको विभिन्न लहर र नेपाल सरकारले जारी गरेको तत्कालीन निषेधाज्ञाका कारण जनजीवन शंकटपूर्ण बनेको विगत परिवेशमा केही समय यस संस्थाका सम्पूर्ण गतिविधि अवरुद्ध बन्न पुगे ।
दोस्रो साधारणसभाले पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७८ का लागि व्यक्तित्व सिफारिस समितिबाट सिफारिस भइ आएका नामहरु मध्येबाट उपयुक्त व्यक्तित्व १ जना पुष्पलालका समकालीन तथा वरिष्ठ पत्रकार तथा पूर्व राजदूत कमल कोइरालालाई उपयुक्त दिन र स्थानमा समारोहबीच पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको थियो । छनौट भएका व्यक्तित्वलाई पुरस्कार प्रदान गर्नका लागि साधारणसभाले आवश्यक व्यवस्थापन गर्न गोविन्द भट्टराई, किशोर श्रेष्ठ, झपेन्द्र गहिरे र राजेशकुमार अर्याललाई अख्तियारी प्रदान गरेको थियो । पुरस्कार सम्माननीय राष्ट्रपतिबाट अर्पण गर्ने भनिएकोमा उहाँको स्वास्थ्य अवस्थाको कारण तत्काल सम्भव नहुने भएपछि पुष्पलालको जन्मदिनका अवसरमा लुम्बिनी प्रदेश प्रमुख माननीय अमिक शेरचनका हातबाट पुरस्कार अर्पण गर्ने कार्यक्रम तय गरिएको हो । यस संस्थाले हरेकवर्ष पुष्पलाल स्मृति दिवसका अवसरमा सामुदायिक रेडियो मदनपोखराबाट पुष्पलालका योगदानमा आधारित रेडियो परिसंवाद कार्यक्रम सञ्चालन गरिआएको छ । यसैगरी २०७९ साउन ७ गते तानसेन नगरपालिकाको सभाहलमा पुष्पलाल र नेपालको राजनैतिक आन्दोलन विषयक अन्तरसम्वाद गोष्ठी आयोजना गरिएको थियो । छिट्टै संस्थाको सम्पर्क कार्यालय स्थापना गरेर पुष्पलालको योगदानलाई चिरस्थायी बनाउन सहयोग पुग्ने रचनात्मक कार्यलाई निरन्तरता दिइने छ । कोषको मुख्य उद्देश्य लोकतन्त्रका मूर्धन्य ब्यक्तित्व पुष्पलालको योगदानलाई चिरस्मरणीय बनाउने, मर्यादित र पेशागत पत्रकारिताको विकास गर्न नेपाली पत्रकारहरुलाई प्रोत्साहित गर्ने तथा राष्ट्रियता, लोकतन्त्र, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्यायका लागि पैरवी गर्ने नै हो ।
अन्त्यमा, पुष्पलाल, वीपी कोइराला, गणेशमान, मनमोहन, मदन भण्डारी जस्ता सत्पात्रहरुलाई फलानो विचार अनि धारको नेता भन्नुको सट्टा नेपालका साझा नेताका रुपमा सम्मान गर्नुपर्ने तथ्य महशुस गर्दै तानसेनले यी संस्थालाई अगाडि बढाएको यथार्थ मनन् गर्दै स्थानीय, प्रदेश, संघीय सरकार लगायत सरोकारवाला सबैसँग यथासक्य संस्थागत सहयोगका लागि हामी हार्दिक आग्रह गर्दछौँ । आजको यस विशेष अवसरमा पुनः पुष्पलालप्रति हार्दिक सम्मान प्रकट गर्दछु ।
(लेखक पुष्पलाल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष समेत हुन् ।)